बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएका सबै प्रतियोगिता सकिएका छन् । बुटवल उद्योग वाणिज्य संघले यहि पुस ३ गतेदेखि सञ्चालन गरेको मेला समापन हुनुभन्दा अघिल्लो दिन बुधबार सबै प्रतियोगिता सकिएको मेला प्रचार प्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी गराउनु भयो ।

मेलामा आयोजना गरिएको खुल्ला लोक दोहोरी गित प्रतियोगितामा खस्यौली रोधी क्लव बुटवल प्रथम भएको छ । बुधबार भएको फाईनल प्रतिस्पर्धामा दरवार रोधी क्लव काठमाण्डौलाई पछि पार्दै खस्यौली प्रथम भएको हो । प्रतियोगितामा दरवार रोधी क्लव द्वितीय भएको छ । त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पा र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान वागलुङ समान अंक सहित तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम हुने खस्यौली रोधी क्लव बुटवलको समुहलाई ७५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको छ । त्यसैगरी द्वितीय हुने दरवार रोधी क्लव काठमाण्डौंको समुहलाई ५० हजार, तृतीय हुने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पा र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान वागलुङको समुहलाई समान १८ हजार हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

त्यसैगरी मेलामा आयोजना गरिएको टिकटक प्रतियोगितामा टिकटकर नेत्र न्यौपाने प्रथम, ऊसा खत्री द्वितीय र गणेश सापकोटा तृतीय हुनु भएको छ । टिकपटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिकटकर न्यौपाने, खत्री र सापकोटालाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

बुधबार नै भ्वाईस अफ बुटवल र डान्स च्याम्स अफ बुटवलको पनि फाईनल भएको छ । मेलामा आयोजना गरिएको भ्वाईस अफ बुटवलको उपाधि रुपन्देहीको मणिग्राम निवासी प्रवेश न्यौपानेले प्राप्त गर्नुभएको छ । भ्वाईस अफ बुटवलको उपाधि सहित न्यौपानेलाई ५५ हजार रुपैंया नगद पुरस्कार, प्रमाण पत्र, गिफ्ट ह्याम्पर प्रदान गरिएको सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो ।

त्यसैगरी भ्वाईस अफ बुटवलमा पर्वत रानीपानीका पवन अधिकारी फस्ट रनर अप र देवदह ७ का सचिन विश्वकर्मा सेकेन्ड रनर अप हुनु भएको छ । उहाँहरुलाई क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाण पत्र पदान गरिएको छ ।
त्यसैगरी डान्स च्याम्स अफ बुटवलको उपाधि बुटवल प्रगतिनगरका किरण मगरले प्राप्त गर्नुभएको छ । उहाँलाई उपाधि सहित ३५ हजार रुपैंया नगद पुरस्कार, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको छ । त्यसैगरी प्रतियोगितामा बुटवल देवीनगरका जोयना थापा फस्ट रनर अप र बुटवल लक्ष्मीनगरकी संजीता मगर सेकेन्ड रनर अप हुनुभएको छ । उहाँहरुलाई पनि क्रमशः २० हजार रुपैंया र १० हजार रुपैंया नगद पुरस्कार, प्रमाण पत्र सहित गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा यहि पुसको ३ गतेदेखि अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरिएको मेलामा खुल्ला लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, डान्स च्याम्स अफ बुटवल, टिकटक प्रतियोगिता सहित विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, व्यूटि प्रतियोगिता गरिएको थियो ।

मेलामा बुधबार आधुनिक गायिका देवीका बन्दना, अस्मिता अधिकारी, आधुनिक गायक महेश काफ्ले, लोक तथा दोहोरी गायिका राधिका हमाल, राजु ढकाल, पूर्णकला विसी, श्यामकला भण्डारी, दुर्गा सापकोटा, रितु शाही, बसन्ता खनाल, हास्य कलाकार पुरुषोत्तम भण्डारी लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । मेला भोली १८ गते विहिबार सकिने छ । मेलाको समापनमा उत्कृष्ट स्टल, प्रायोजक लगायतलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको प्रचारप्रसार समितिका संयोजक चापागाईले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0