२४ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालय मातहत विभिन्न कानुनी परिवर्तन र निर्माणबारे नेपाली कांग्रेस र नेकपा एमालेका नेताबाट सुझाव लिएका छन् ।

मौजुदा नीति प्रभावकारी नभएको भन्दै उनले मन्त्रालय मातहत कानुन परिमार्जन, संशोधन र पुनर्निर्माणलाई तीव्रता दिएको पर्यटन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले पर्यटन नीतिको नयाँ मस्यौदालाई अन्तिम रूप दिने तयारी छ ।

बुधबार उनले सोही ऐनबारे छलफल आयोजना गरे । सोही क्रममा मन्त्री पाण्डेले शासकीय स्वरूप परिवर्तन भए पनि पुरानै कानुन भएका कारण मन्त्रालयका गतिविधि प्रभावकारी बन्न नसकेको बताए ।

छलफलमा नेकपा एमाले महासचिव शंकर पोखरेलले नीति बनाउँदा सैद्धान्तिक भन्दा पनि व्यावहारिक विषयमा ध्यान दिन सुझाव दिए । नेपालको भविष्य पर्यटन क्षेत्रमा नै रहेको भन्दै उनले जलवायु परिवर्तनका विषय ऐनमा समेट्न सुझाव दिए ।

कांग्रेस महामन्त्री गगन थापाले २०६५ सालको पुरानो ऐन प्रतिस्थापन गर्दै नयाँ बन्ने नीतिले सिमाङ्‍कनमा ध्यान दिनुपर्ने बताए । नीति बनाउँदा सम्बन्धित अन्तर मन्त्रालयबीच छलफल आवश्यक रहेको उनको भनाइ छ ।

पर्यटन क्षेत्रमा सरकारभन्दा बढी निजी क्षेत्र सक्रिय र जिम्मेवार बन्न आवश्यक रहेको उनको भनाइ छ ।

महामन्त्री थापाले पर्यटन क्षेत्र विकासका लागि कति पर्यटक भित्रिएभन्दा पनि उनीहरूले नेपालमा बस्दा कुन क्षेत्रमा कति लगानी गरे, खर्च गरे भन्ने कुरा महत्त्वपूर्ण हुने उनले बताए । उनले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0