२४ पुस, काठमाडौं । केही दिनअघि हिमपातले प्रभावित अमेरिका अहिले फेरि डढेलोबाट प्रभावित भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन् । जोखिम क्षेत्रबाट मानिसहरुलाई उद्धार गर्ने काम जारी छ ।
अधिकारीहरुका अनुसार आगो पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिइसकेको छ । हेलिकोप्टर र दमकलबाट आगो निभाउन अग्निनियन्त्रकहरु सक्रिय छन् । तर १६० किलोमिटर प्रतिघण्टाको वेगले हावा चलेकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको छ ।
लस एन्जलस अग्निनियन्त्रण विभागकी प्रमुख क्रिस्टिन क्रलीका अनुसार आगलागीबाट २३ हजारभन्दा बढी घर र भवनहरु जोखिममा छन् । आगो निभाउन २५० अग्नि नियन्त्रक, दमकल र हेलिकोप्टर परिचालन गरिएको छ । ‘आगो निभाउन खटिएको टोलीलाई कठिन भइरहेको छ,’ उनले भनेकी छन् ।
डढेलो अनियन्त्रित भएपछि मानिसहरुको भागाभाग भएको भिडियो देखिन्छ । मानिसहरु सडकमै सवारी साधन छाडेर भागेपछि बाटो खुलाउन डोजर प्रयोग गरिएको छ । केही ठाउँमा सवारी साधनको जाम लागेको छ । त्यसैले मानिसहरुलाई त्यो ठाउँ छाड्न पनि कठिन भइरहेको छ ।
स्थानीय समय अनुसार मंगलबार बिहान साढे १० बजेदेखि लसएन्जलसको प्यासिफिक प्यालिसेड्सबाट डढेलो सुरु भएको थियो । सुकेका रुख, पातपतिङ्गर र सान्टा आना नामको आँधीले आगो भयानक भएको बताइएको छ । लसएन्जलसका अधिकांश क्षेत्रमा डढेलोको जोखिम रहेको चेतावनी जारी गरिएको छ ।