बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक स्वास्थ्य इकाई’ गरिव तथा विपन्न परिवारको सहारा बनेको छ । आर्थिक रुपले विपन्न, वृद्ध–वृद्धा, सामाजिक रुपमा पिछडिएका तथा लक्षित वर्गले उपचार सेवामा सहुलीयत प्राप्त गर्ने भएपछि सेवाग्राहीको चासो र चाप बढ्दै गएको छ ।
आंशिक तथा पूर्ण निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्नेभएपछि सेवाग्राहीको आकर्षण र विश्वास बढ्दै गएको हो । सामाजिक ईकाई मार्फत अस्पताल बिकास समितिले आफ्नो आन्तरिक श्रोतबाट पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा साढे २ करोड रकम बराबरको स्वास्थ्य उपचार तथा सेवा उपलब्ध गराएको छ । यसैगरी चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा मात्रै ६१ लाख बढी रकमको सेवा उपलब्ध गराएको छ ।
अस्पतालमा सामाजिक स्वास्थ्य ईकाई मार्फत चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ हजार ४६ जनालाई सेवा उपलब्ध गराइएको छ । जसमध्ये लक्षित समुह अन्तरगत गरिव परिवारका ६५९ जना, जेष्ठ नागरिक १ हजार २७३ जना, असाहय २५ जना, अपाङ्गता भएका व्यक्ति ६२ जना, कुपोषित बालबालिका ७, महिला स्वास्थ्य स्वयम्सेविका ३, थुनुवा १४ र प्राकृतिक प्रकोप प्रभावित २ जना रहेका छन् । अस्पतालमा जाँचपड्ताल तथा अप्रेशन, औषधी उपचार खर्च तथा आईसियू सेवाका लागि कूल ६१ लाख ७८ हजार ४९६ रुपैयाँ रकम बराबरको स्वास्थ्य सेवा पहिलो चौमासिकमा उपलब्ध गराइएको सामाजिक सेवा ईकाइका तथ्याङ्कमा उल्लेख छ ।
पछिल्लो चौमासिक २०८१/८२ (साउनदेखि कार्तिकसम्म) को तथ्याङ्क
यसैगरी अघिल्लो आर्थिक वर्षको अवधिमा २ करोड ४३ लाख ८५ हजार ३०८ रुपैयाँ बराबरको सेवा उपलब्ध गराइएको स्वास्थ्य सेवा ईकाइका प्रमुख नेत्र आचार्यले जानकारी दिए । जसमध्ये जाँचपड्ताल तथा अप्रेशन सेवाका लागि १ करोड २१ लाख ३५ हजार ३० रुपैयाँ, औषधी खर्चका लागि १ करोड २ लाख ८४ हजार ५५८ रुपैयाँ तथा आईसियू सेवातर्फ १९ लाख ६५ हजार ७१९ रुपैयाँ खर्च भएको छ । अस्पतालमा ७ हजार ९७ जना लक्षित समुदायका बिरामीलाई सो अवधिमा सामाजिक सेवा ईकाइबाट उपचार सेवा उपलब्ध गराइएको हो ।
अस्पतालमा आर्थिक वर्ष २०८९/८० मा ३ करोड १७ लाख ३६९ रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको सामाजिक ईकाइ प्रमुख नेत्रप्रसाद आचार्यले जानकारी दिए । उक्त अवधिमा ७ हजार ६९७ जनाले सेवा लिएका थिए । यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ९८० जनाले सामाजिक सेवा ईकाइबाट लाभाम्बित भएका थिए ।
यस्तै दम र ब्रोङकाइटिस रोगका लागि लुम्बिनी प्रदेश सकारले उपलब्ध गराउँदै आएको ५० हजार अनुदान कार्यक्रमबाट ९ जनालाई २ लाख २५ हजार ८८४ रुपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध गराएको छ । उक्त कार्यक्रममा समेत अस्पताल विकास समितिले खर्च व्यवस्थापन गर्नुपरेको छ । यसैगरी सिकलशेल यनिमियाका बिरामीहरुका लागि ४ लाख ८३ हजार ६१२ रुपैयाँ बराबरको औषधी उपचार खर्च उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । हाल अस्पतालमा ७४ जना सिकलसेलका बिरामीहरुले नियमित चेकजाँच तथा उपचार सेवा लिइरहेको सामाजिक सेवा ईकाइ प्रमुख आचार्यले बताए ।
उपचार सेवालाई सहज बनाउनका लागि गरिव तथा विपन्न परिवारलाई उपचार मात्र होइन बिरामी कुरुवालाई खाना नास्ता समेत उपलब्ध गराउने गरिएको सामाजिक ईकाका प्रमुख आचार्यले बताए । विपन्न परिवारका विरामीले उपचार गराउँदाको अवधिसम्म उनीहरुलाई कुरेर बस्ने आफन्तहरुलाई दैनिक ५० रुपैयाँ बराबरको खाजा खर्च तथा खाना उपलब्ध गराउने गरिएको आचार्यले बताए । यसैगरी अस्पतालमा गरिव विरामीको कुरुवालाई खाना तथा खाजा खर्च बापत ५९ हजार ३ सय खर्च भएको छ । जसमा ५३ जनालाई खाना र ८ जनालाई खाजा उपलब्ध गराइएको थियो ।
अस्पतालमा ६० देखि ८० वर्षसम्मका जेष्ठ नागरिकर्लाई ५० प्रतिशत सम्म सहुलियत रहेको छ भने ८० वर्ष माथिका जेष्ठ नागरिकलाइ पूर्ण निःशुल्क उपचार सेवा उपलब्ध रहेको छ । ईकाई मार्फत सेवा प्राप्त गर्नका लागि सम्बन्धित पालिकाको सिफारिस, लक्षित समुहको परिचय पत्र, नागरिकता लगाएतको आवश्यक कागजपत्रहरु पेश गर्नुपर्ने नियम रहेको छ ।
अस्पतालले लक्षित समुहलाई तीन प्रकारको सेवा प्रवाह गर्दै आएको छ । जसमा ओपिडी सेवामा २ हजार ५ सयसम्मको जाँच उपचार सेवा निःशुल्क, आकस्मिक वा इर्मजेन्सि सेवातर्फ ५ हजार सम्मको सेवा उपचार निःशुल्क गर्दै आएको छ भने अपे्रशन तथा भर्ना भएका बिरामीहरुलाई १० हजारसम्म निःशुल्क सेवा प्रदान गर्ने गरेको छ । सेवा ईकाईले २४ घन्टा नै सेवा दिदै आएको छ । सरकारले लक्षित समुहलाई छिटो छरितो र निशुल्क सेवा दिने उद्देश्यका साथ लुम्बिनी प्रादेशिक अस्पताल बुटबल सहित देशभरका ८८ वटा अस्पतालमा ईकाई संचालन गरेको छ ।
आर्थिक अभावले कसैले पनि ज्यान गुमाउन नपरोस तथा जोखिममा नपरुन भन्ने उद्देश्यका साथ सबै जनतालाईलाई स्वास्थ्यको समान पँहूचमा ल्याउनेगरी सञ्चालन गरिएको सामाकाजिक ईकाईप्रति सेवाग्राही विगतभन्दा थप सचेत र आकर्षित बन्दै गएको अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले उल्लेख गरे ।
सेवाग्राहीको चाप बढ्दो, अनुदान घट्दो :
अस्पताल विकास समितिले आफ्नै खर्चमा विपन्न, गरिव तथा लक्षित वर्गहरुलाई सामाजिक ईकाइबाट सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष श्रेष्ठ बताउँछन् । नेपाल सकारले सो कार्यक्रमका लागि वर्षेनी अनुदान घटाउँदै लैजाँदा थप समस्या भएको उनले गुनासो गरे । चालु आर्थिक वर्षमा संघीय सरकारले १० लाख ३२ हजार रुपैयाँ मात्रै रकम उपलब्ध गराएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी गराए । स्वास्थ्य मन्त्रालयको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा कर्मचारीको लापरबाहिले अस्पताललाई यो वर्ष बजेट कम आएको हो । हरेक वर्ष १ करोडका दरले रकम उपलब्ध गराउँदै आएको संघीय सकारले यस पटकको बजेटमा कम्यूटरमा इन्ट्रि गर्ने क्रममा एउटा शुल्य टाइप गर्न विर्सिँदा १ करोडको बजेट १० लाखमा झरेको हो । उक्त बजेटलाई संसोधनका लागि नर्सिङ महाशाखा प्रमुख, स्वास्थ्य मन्त्रालय तथा अर्थमन्त्रायसम्म पहल जारी राखे पनि हालसम्म सफल हुन नसकेको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले जानकारी दिए ।
संघीय सरकारले यो कार्यक्रमका लागि गत आर्थिक वर्षमा ९० लाख उपलब्ध गराएको थियो । कर्मचारीहरुलाई संघीय सकारले उपलब्ध गराउने सोही अनुदानबाटै तलब तथा सेवा सुविधा उपलब्ध गराउनु पर्ने बाध्यता रहेको छ । यसरी कर्मचारीको समेत व्यवस्थापन गर्नुपर्दा नगन्यमात्रै अनुदान रकम खर्च गर्न पाइने भएकाले अस्पताल बिकास समितिले यसको भार व्यहोर्दै आएको छ । अस्पतालमा सामाजिक सेवा ईकाइतर्फ १० जना कर्मचारी कार्यरत रहेका छन् ।
अस्पताल विकास समितिको सीमित श्रोत र साधनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन नसकिएको अध्यक्ष श्रेष्ठले गुनासो गरे । अस्पतालमा यो कार्यक्रम अन्तरगत सामान्य उपचार खर्चमा मात्रै होइन विभिन्न जटिल प्रकारकार शल्यक्रियता तथा औषधी खर्च उपलब्ध गराउने गरेको उनी बताउँछन् । स्थानीय सरकारले समेत सामाजिक ईकाईलाई थप प्रभावकारी र पहुँचमा ल्याउन निश्चित रकम छुट्याएर आफ्ना जनताहरुको उपचारमा खर्च गर्न सके राम्रो हुने बताउँदै अध्यक्ष श्रेष्ठले त्यसका लागि लुम्बिनी प्रादेशिक अस्पताल सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
सिफारिस गर्ने स्थानीय सकारले लिदैनन् आर्थिक दायित्व :
स्थानीय सकारले अस्पतालमा उपचारका लागि आउने बिरामीहरुका लागि विपन्न, गरिव तथा लक्षित समुदायको भनेर सिफारिस गर्ने बाहेक आर्थिक दायित्व पूरा नगर्दा समस्या थप जटिल बनेको छ । अस्पतालमा लुम्बिनी प्रदेश तथा अन्य प्रदेशका समेत बिरामीहरु उपचारमा आउँदा त्यहाँका स्थानीय सकारले विपन्न, गरिव तथा लक्षित समुदाय उल्लेख गरी सफारिस गरी पठाउने प्रचलन रहेको छ । यसरी आउने बिरामीहरुलाई अस्पतालले अवस्था सामाजिक सेवा ईकाइमार्फत निःशुल्क, आंशिस तथा सहुलीयत दरमा सेवा उपलब्ध गराए पनि त्यसको आर्थिक भार भने अस्पताल बिकास समितिलाई मात्रै पर्ने गरेको छ । सरकारले केही लक्षित रोगको उपचारका लागि अनुदान उपलब्ध गराए पनि उक्त रकम प्रयाप्त नभएको अस्पताल बिकास समितिका अध्यक्ष श्रेष्ठ बताउँछन् ।
कतिपय स्थानीय सकारले हचुवाका भरमा बिरामीलाई गरिव विपन्न परिवार तथा लक्षित समुदाय भनेर सिफारिस गरिदिने समस्या समेत रहेको अस्पतालमा कार्यरत एक कर्मचारीले गुनासो गरे । स्थानीय सकारले नै यसरी गलत काम गरिदिँदा लक्षित समुदायले नभई अन्य समुदायले सेवाको दुरुपयोग गर्ने सम्भावना बढ्दै गएको ती कर्मचारीले गुनासो गरे ।