२१ पुस, काठमाडौं। सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध कालिमाटिस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । ४३ वर्षीय बराल स्वर्णलक्ष्मी सहकारीका सञ्चालक समिति सदस्य समेत हुन् । उनलाई प्रहरीले पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
उनीसहित यो सहकारीमा ३९ जनालाई प्रतिवादीलाई बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
यसअघि उनीविरुद्ध दुई वटा सहकारीमा मुद्दा दायर गरिएको थियो । उनीविरुद्ध बुटवलको सुप्रिम सहकारी र काठमाडौं पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारीमा पनि मुद्दा दायर भएको थियो । अहिले यी दुबै मुद्दा बिचाराधीन अवस्था छन् ।
बराल सहकारीमा जीबी राईको साझेदार रहेको खुलेको छ । २५ माघ २०७२ मा बराल मैत्रेय बचत तथा ऋण सहकारी संस्था रुपन्देहीको सञ्चालक समितिमा थिए । ३ फागुन २०७२ गतेको विशेष साधारण सभाले सहकारीको नाम परिवर्तन गरेर सुप्रिम बचत तथा ऋण सहकारी संस्था राख्ने निर्णय गरेको थियो।
उक्त निर्णयपछि सहकारीको सञ्चालक समिति पनि पुनर्गठन गरिएको थियो । सहकारीमा जीबी अध्यक्ष र राजु सचिव भएका थिए ।
यही सुप्रिम सहकारीले १ हजार बढी बचतकर्ताको करिब १ अर्ब रकम अपचलन गरेको भन्दै २८ जनाविरुद्ध ३ वैशाखमा मुद्दा दायर भएको थियो । प्रहरीले उनीविरुद्ध फरार प्रतिवादी बनाए पनि बराल त्यतिबेला पनि गाउँपालिकाकै कुर्सीमा थिए ।
यसअघि काठमाडौंको पुतलीसडकस्थित नाता बचत तथा ऋण सहकारीमा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सो सहकारी संस्थाले ७२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।
त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा बराल पनि संलग्न देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । बराल नाता सहकारीको उपाध्यक्ष थिए । तर, उनलाई पक्राउ नगरी गत माघमा काठमाडौं जिलला अदालतमा मुद्दा दायर भएको थियो । त्यतिबेला बरालसहित ११ जनालाई प्रतिवादी बनाउँदै ७२ लाख रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।
तीन वटा सहकारी ठगीका आरोपी बराल यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा फिक्कल गाउँपालिका–५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी एमालेबाट निर्वाचित फिक्कलल गाउँपालिका उपाध्यक्ष हुन् ।