रुपन्देही, तिलोत्तमा। तिलोत्तमा भलवारीदेखि सुद्धोधन क्षेत्रलाई जोड्ने पक्की पुलको निर्माण तीव्र गतिमा भइरहेको छ। पुल निर्माणको प्रगतिबारे जानकारी लिन नेपाल सरकारका पूर्व गृहमन्त्री बालकृष्ण खाँडले निर्माण स्थलको स्थलगत निरीक्षण गरेका छन्।

पुल निर्माण कम्पनीका प्रतिनिधि डिबी खत्रीसँग छलफल गर्दै उनले निर्माणको वर्तमान अवस्था, प्रगतिका चरणहरू, र तोकिएको समयसीमामा काम सम्पन्न गर्न आवश्यक तयारीबारे जानकारी लिएका हुन्।

उक्त कार्यक्रममा खाँडसँगै प्रदेश सांसद जमुना ढकाल, विभिन्न स्थानीय तहका प्रमुख तथा अध्यक्षहरू, संघ संस्थाका प्रतिनिधिहरू, इञ्जिनियरहरू, विद्यार्थी संघका नेता र कार्यकर्ताहरूको उपस्थिति थियो।

पूर्व गृहमन्त्री खाँडले पुल निर्माण कार्य गुणस्तरीय र तोकिएको समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। उनले निर्माण कार्यमा ढिलासुस्ती भए त्यसले स्थानीय बासिन्दाको जनजीवन र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पार्ने भन्दै समयमै काम सम्पन्न गर्न जोड दिए।

गुणस्तरीय विकास निर्माण मार्फत जनताको सेवा गर्ने हाम्रो दायित्व हो,” खाँडले भने, यो पुल बनेपछि यातायातको सहजतासँगै स्थानीय क्षेत्रमा आर्थिक विकासको ढोका खोल्नेछ।

उक्त पुल निर्माण सम्पन्न भएपछि तिलोत्तमा र सुद्धोधन क्षेत्रबीचको आवागमन सहज हुने र यसले व्यापारिक गतिविधिलाई समेत प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

खाँडले गृह जिल्ला रुपन्देहीमा चलिरहेका अन्य विकास योजनाहरूको प्रगतिप्रति चासो व्यक्त गर्दै विभिन्न परियोजनाको स्थलगत अवलोकन गरिरहेका छन्। उनका अनुसार, कुनै पनि विकास निर्माण परियोजनामा ढिलाइ हुनु जनताप्रति पुर्‍याउनुपर्ने सेवामा बाधा पुर्‍याउनु हो।

स्थानीय बासिन्दाहरूले पनि पुल निर्माणको प्रगति देखेर खुशी व्यक्त गरेका छन्। उनीहरूले निर्माण कार्य समयमै सम्पन्न होस् भन्ने अपेक्षा गरेका छन्।

यो पुलले यहाँको विकास र समृद्धिलाई गति दिन्छ, स्थानीय व्यापारी राम बहादुर क्षेत्रीले भने, अब यो परियोजना समयमै सम्पन्न गर्न सबैले ध्यान दिनुपर्छ।

पुल निर्माण कार्यको निरीक्षणसँगै पूर्व गृहमन्त्री खाँडले जिल्लाको समग्र विकास निर्माणको अवस्थाबारे जानकारी लिने र आवश्यक सुझाव दिने कार्यलाई निरन्तरता दिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0