६ माघ, हुम्ला । हुम्ला जिल्लाको चंखेली गाउँपालिकामा पर्ने नेप्का गाउँमा एक दिनमै सात पटकसम्म अध्याँरो र उज्यालो हुन्छ भन्दा तपाईंलाई अचम्म लाग्छ होला । तर, अचम्म मान्नु पर्दैन । गाउँ वरिपरिका अग्ला डाँडामा सूर्यको लुकामारीले गर्दा यस्तो हुने गर्दछ । त्यसैले यस गाउँलाई ‘सात पटकसम्म घाम लाग्ने गाउँ’ पनि भनिन्छ ।
नेप्का गाउँको पूर्व-दक्षिणमा छ माणिलेक । यो लेकमा अग्ला-अग्ला चुचुराहरु छन् । ती अग्ला चुचुराले हिँउदभर सूर्यलाई छेक्ने गर्दछन् । जसका कारण मंसिरदेखि फागुन महिनासम्म छिनमै घाम लाग्ने र छिनमै घाम अस्ताएजस्तो अँध्यारो हुने गर्छ ।
नेप्का, गाउँमा मंसिरदेखि फागुन महिनासम्म एक दिन अवधिभरमै सात पटकसम्म अँध्यारो र उज्यालो हुँदा जोकोहीलाई अचम्मित बनाउँछ ।
हुम्लाको सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा पर्छ चंखेली गाउँपालिका । यो गाउँपालिकामा तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ छन् । नेप्का गाउँ हालको चंखेली गाउँपालिका–५ नम्बर वडामा पर्छ । गाउँपालिकाको केन्द्रसम्म पुग्न अप्ठ्यारो बाटोमा ज्यानकै जोखिम राखेर पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । यहाँ पहिलोपटक पुग्ने नौला मान्छेलाई कुनै प्राकृतिक गुफामा गएको जस्तो अनुभूति हुन्छ ।
दिनमै घाम अस्ताउन लाग्दाको नेप्का गाउँ ।
सानो समथल भूबनोटमा अवस्थित नेप्का गाउँ प्राकृतिक सुन्दरता र जडिबुटीको धनी छ । त्यसैले दश वर्षे सशस्त्र युद्धका बेला माओवादी कलाकारहरुले नेप्का गाउँबारे गीत नै रचेका थिए । चंखेली गाउँपालिका ५ का भियाले तामाङले बताएअनुसार ‘हुम्ला जिल्ला नेप्का गाउँमा सात पटक घाम लाग्छ, उही हुम्लाको जडीबुटी उही हुम्ला काम लाग्छ’ भनेर माओवादी कलाकारहरुले गीत रचेका थिए ।
यहाँको मूल पेसा कृषि र पशुपालन हो । केही समययतादेखि अतिरिक्त आयआर्जनमा जडीबुटी संकलन पनि थपिएको छ । नोकरी गर्नेको संख्या नगन्य छ । यहाँ सरकारी विकासले पाइला टेकेको छैन ।
यो गाउँको विकासमा अहिलेसम्म तीनै तहका सरकारले प्राथमिकता नदिएको स्थानीयको गुनासो छ । ‘वरिपरिबाट घेरिएका विभिन्न हिमालहरुको काखमा लुकामारी गरेरै सन्तुष्ट छन् नेप्का गाउँवासी,’ स्थानीय भियाले तामाङ भन्छन्, ‘बेलाबेला सूर्य त उदाउँछ तर विकासको घाम उदाउने कहिले हो थाहा छैन ।’