६ माघ, काठमाडौं । दाङको दंगिशरण गाउँपालिका–२ कौवाधारीका २५ वर्षीय प्रेमबहादुर कुसारी ३ माघको दिउँसो ४ बजेतिर गम्भीर घाइते भए ।
घाइते कुसारीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगियो । उपचारमा लैजाँदा कुसारी जंगलमा रुखबाट लडेर गम्भीर घाइते भएको बताइएको थियो । तुल्सीपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भन्दै नेपालगञ्ज नर्सिङ होममा रेफर गरियो ।
गम्भीर घाइते कुसारीलाई ३ माघकै राति साढे ८ बजेतिर चिकित्सकले मृत घोषित गरे । नर्सिङ होममा मृत घोषित भएका कुसारीको शव पोस्टमार्टमका लागि भेरी अस्पताल बाँके लगियो । भेरी अस्पतालले पोस्टमार्टम गरिसकेपछि कुसारीको शव उनका बाबु अबिरले ४ गते बुझे ।
शव घरमा ल्याएर सद्गत् गराउने तयारी गरिरहेका बेला कुसारीको घरमै प्रहरी पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा एसपी अर्जुन तिमल्सिना र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) विनोदराज खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले शव नियन्त्रणमा लियो ।
कुसारीको मृत्यु सामान्य नरहेको सूचना पाएको प्रहरीले उक्त शव पुनः पोस्टमार्टमका लागि भन्दै भेरी अस्पताल नै पठायो । दोस्रो पोस्टमार्टममा भने कुसारीको तिघ्रामा गोली (छर्रा) भेटिएको दाङका एसपी तिमल्सिनाले बताए ।
‘पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट खुट्टाको साप्रालगायतमा भरुवा बन्दुकको गोलीको छर्रा भेटिएको छ,’ तिमल्सिनाले भने ।
प्रहरीले पाएको पूर्वसूचना सही भएपछि थप अनुसन्धान अघि बढाएको थियो । कुसारीमाथि गोली प्रहार भएको आरोपमा प्रहरीले अहिले २ जनालाई पक्राउ गरेको छ । दाङ प्रहरीका प्रवक्ता कविराज रोकायका अनुसार पक्राउ पर्नेहरूमा दंगिशरण–२ कै २२ वर्षीय छविलाल डाँगी र सोही ठाउँका २७ वर्षीय पुष्पलाल बस्नेत छन् ।
डाँगीलाई ५ माघमा नेपालगञ्जबाट र सोही दिन बस्नेतलाई तुलसीपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुविरुद्ध दाङ जिल्ला अदालतबाट ज्यानसम्न्धी कसुरमा १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको रोकायले बताए ।
अनुसन्धानको क्रममा उनीहरू तीनै जना सिकार खेल्न गएको खुलेको छ । सो क्रममा जंगली जनावरलाई हानेको गोली कुसारीलाई लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर पक्राउ परेकाहरूले भने कुसारी लड्दा आफैंले बोकेको भरुवा बन्दुकको गोली लागेको दाबी गर्दै प्रहरी समक्ष बयान दिएका छन् ।
सिकार खेल्न प्रयोग गरिएको एक थान भरुवा बन्दुक समेत प्रहरीले दंगिशरण–२ कै राजाकोट सामुदाष्कि वनबाट फेला पारेको छ ।
यता पहिलो पोस्टमार्टमका बारेमा भने रुखबाट लडेको भनेर सामान्य पोस्टमार्टम मात्रै गरेर शद्गतको प्रक्रिया गर्न खोजिएको प्रहरीको भनाइ छ । पोस्टमार्टम गर्ने चिकित्सकको समेमत शंकास्पद भूमिकाबारे प्रवक्ता रोकाया भन्छन्, ‘पहिलो पोस्टमार्टम रुखबाट लडेको भनेकाले सामान्य गरिएको छ । हामीले घटना संकास्पद छ भनेर पुन पोस्टमार्टम गर्न लगाएपछि मात्रै गोली निकालिएको हो । यसबारे पनि आवश्यक बुझ्ने काम भइरहेको छ ।’