दिनेश पाण्डे,
माघ | बुटवल: पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले विकासका विभिन्न योजनाहरूको निरीक्षण गरिरहेका छन्। यसै क्रममा उनले तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकाका १५ सयभन्दा बढी किसानलाई सिचाई सुविधा पुर्याउन सुरु भएको रोहिणी नदी सिचाई आयोजनाको पनि स्थलगत निरीक्षण गरेका छन्।
यसअघि उनले तिलोत्तमा, सुद्दोधन गाउँपालिका र अन्य क्षेत्रलाई जोड्ने पुलहरूको पनि निरीक्षण गर्दै निर्माण कम्पनीसँग परियोजनाको प्रगतिबारे जानकारी लिए। निर्माण कार्य समयमै सम्पन्न गर्न आग्रह गर्दै उनले विकास निर्माणका कार्यमा ढिलासुस्ती हुँदा जनताले भोग्नुपरेका समस्याहरूलाई पनि प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।
रोहिणी नदी सिचाई परियोजनाले २०७३ सालदेखि काम थालेको भए पनि समयमै लक्ष्य अनुसार प्रगति गर्न नसकेको स्थानीयको गुनासो थियो। यसै कारण पूर्व गृहमन्त्री खाँणले देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा केसी, स्थानीय तहका प्रतिनिधि, सरोकारवाला निकायका पदाधिकारी, किसान, विद्यार्थी नेता तथा अन्य सामाजिक अभियन्ताहरूसँग छलफल गरी परियोजनाको समस्या र समाधानका उपायहरूबारे जानकारी लिएका छन्।
खाँण जहाँ-जहाँ पुग्छन्, त्यहाँ स्थानीय समुदाय, जनप्रतिनिधि, सामाजिक अभियन्ता र विद्यार्थी नेताहरूको बाक्लो उपस्थिति देखिन्छ। उनले सबैको राय र सुझाव सुनेर जनतालाई बढी लाभ हुनेगरी परियोजनाहरूलाई अघि बढाउन जोड दिएका छन्।
देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा केसीले रोहिणी नदीमा भइरहेको सिचाई र जलाधार विकासले समयमा काम पूरा नहुँदा तथा वार्षिक बाढीका कारण स्थानीय बस्ती र खेतीयोग्य जमिनमा डुबानको जोखिम बढिरहेको बताए।
यता जलस्रोत तथा सिचाई डिभिजन कार्यालय रूपन्देहीका प्रमुख टंक केसीले परियोजनाका केही पक्षहरू अध्ययनकै क्रममा रहेको जनाउँदै, परिमार्जनसहित स्थानीयलाई अधिकतम लाभ पुग्नेगरी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।
पूर्व गृहमन्त्री खाँणले आफ्नो निरीक्षणको क्रममा विकास निर्माणका कार्यलाई समयमै सम्पन्न गर्न जोड दिएका छन्। उनले जनताको विश्वासलाई कायम राख्दै समग्र विकासका कार्यहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताएका छन्।
खाँणको सक्रियता र जनसरोकारका विषयमा लिएको चासोले स्थानीयबासीहरूलाई राहत र आशा दिएको छ। उनका भ्रमणहरू केवल निरीक्षणका लागि मात्र नभई जनताको समस्यालाई समाधान गर्ने दिशामा रहेको देखिन्छ।