८ साउन, काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र ती बसमा सवार यात्रुहरुको खोजी आज १२ औं दिन पनि जारी छ ।

आज बिहान साढे आठ बजेदेखि सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्‍याएर खोजी गर्न लागिएको छ । खोजीमा संलग्न प्राविधिकहरुका अनुसार त्यहाँ केही शंकास्पद वस्तु देखिएकाले दोहोर्‍याएर खोज्न लागिएको हो ।

नेपाली गोताखोर र भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) का प्राविधिकहरुसहितको संयुक्त टोलीले आज बिहान ८ः३० बजेबाट सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्याएर खोजी कार्य गर्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका थिए ।

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । शनिबारसम्म २५ जनाको शव फेला पारिएको छ भने १८ जनाको सनाखत भएका छन् । बाँकी यात्रु र दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन ।

बस र यात्रुहरुको खोजीमा गत शनिबारदेखि भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) टोलीसमेत परिचालित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0