१७ भदौ, काठमाडौं । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत् आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो ।

यस आयोजनाको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका महासचिव बलराम खतिवडादेखि सूचना प्रविधि विज्ञ असगर अलिलगायत रहेको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए ।

प्रस्तावित जलविद्युत् आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ ताँदीमा निर्माण हुनेछ । यो आयोजनाको सबै अध्ययन पूरा भएको समेत बताइएको छ ।

जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) २०८० वैशाखमा तयार भएको हो ।

प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ । यो जलविद्युत् आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ । १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ ।

उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किटको १० किमी प्रसारणलाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिनेछ । यो जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ ।

आगामी २९ असोजदेखि निर्माण थाल्ने योजना छ । २०८४ वैशाख मसान्तमा व्यावसायिक उत्पादनको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0