१९ भदौ, जनकपुरधाम । धनुषाको टेश्वर गाउँपालिका १ की ५१ वर्षीया आशा देवी मण्डलले एक वर्षपछि जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्रतिलिपि पाएकी छन् । एक वर्षसम्म लगातार प्रशासन धाएपछि उनले बुधबार बल्ल प्रतिलिपि पाएकी हुन् ।

मण्डलले प्रतिलिपिका लागि पुन: वडा सिफारिस, अनुसूचीसहित कागजात जिल्ला प्रशासन कार्यालयमा पेश गरेको केही बेरमै नागरिकता हातमा पाएकी हुन् । ‘आई हमरा जल्दी नागरिकता भेटल । एक वर्षसे दौडैत दौडैत पीडित भगेल छली’, नागरिकता पाएपछि उनले भनिन् ।

एकवर्षपछि नागरिकता पाउँदा उनी र उनको श्रीमान रामदेव मण्डलले खुसी व्यक्त गरे । ‘एकवर्ष मजदुरी सरसापट गरी सीडीओ कार्यालय दौडधुप गर्दा पीडित भइसकेका थियौं । तर आज पुनः कागजात पेश गरेको केही छिनमै श्रीमतीको हातमा कर्मचारीले नागरिकता दिनुभयो’, उनले खुसी व्यक्त गरे ।

गत वर्ष २०८० असोजमै नागरिकता प्रतिलिपीको लागि आशाले प्रतिलिपिका लागि वडा सिफारिस, अनुसूची भरेको कागजातसहित फाइल बुझाएकी थिइन् । तर वर्षदिन दौडधुप गर्दा पनि बनेको थिएन । गत बुधबार कर्मचारीले पेश गरेको फाइल हराएकाले फेरि वडा सिफारिस र अनुसूची भरेर पेश गर्न भनेका थिए ।

यो पनि पढ्नुहोस
नागरिकताको प्रतिलिपि लिन एक वर्षदेखि सीडीओ कार्यालयको चक्कर
छोरा राहुलको नागरिकता बनाउन आएपछि नागरिकतामा केरमेट भएको भन्दै पहिला आफ्नो प्रतिलिपि लिन प्रशासनका कर्मचारीले भनेका थिए । त्यसपछि आशा आफ्नो नागरिकता प्रतिलिपि लिने प्रक्रियामा लागेकी थिइन् । मण्डलले नागरिकता प्रतिलिपि पाउन व्यहोरेको हैरानीबारे मंगलबार सदनमा पनि प्रश्न उठेको थियो ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0