काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप–२९) मा व्यवस्थित एजेण्डासहित कोपबाट उपलब्धि हासिल गर्नेगरी नेपाल प्रस्तुत हुने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आइतबार कोप–२९ बारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।

मन्त्री शाहीले व्यवस्थित एजेण्डासहित नेपाललाई कसरी बढी कोपबाट उपलब्धि हासिल गराउन सकिन्छ भन्ने हिसाबले अघि बढ्ने बताए । उनले थप अझै गोष्ठी, विचारहरू र आवश्यक सेमिनरहरु गरी सुझाव संकलन गरेर अगाडि बढ्ने र संख्यालाई व्यवस्थित गर्नेकुरामा मन्त्रालयको ध्यान केन्द्रित रहेको बताए । उनले प्रभावित क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने र त्यसमा पनि कर्णाली प्रदेशको प्रतिनिधित्व अनिवार्य गराउने कुरा सकारात्मक रहेको भन्दै मन्त्रालयले गम्भीरताका साथ लिने बताए ।

मन्त्री शाहीले कर्मचारीको संख्या धेरै भएको गुनासो आएकाले कम गर्नेमा आफूहरू लागेको बताए । कोप २९ लाई विगतका कोपहरु भन्दा व्यवस्थित र नेपाललाई थप उपलब्धि हुने किसिमले मन्त्रालयले काम गरिरहेको बताए ।

उनले भने, ‘अबको कोपलाई नेपालका एजेण्डाहरु र नेपाललाई कसरी बढी हामीले त्यो कोपबाट उपलब्धि हासिल गर्नसक्छौँ, त्यसमा हामी अझै थप छलफल गर्ने पक्षमा छौँ । थप अझै गोष्ठी, विचारहरू र आवश्यक सेमिनरहरु गरी, सुझाव संकलन गरी अगाडि बढ्ने र संख्यालाई व्यवस्थित गर्नेकुरामा हाम्रो एकदमै ध्यान केन्द्रित गर्नेछौँ । प्रभावित क्षेत्रको प्रतिनिधित्व हुनुपर्छ भन्नेकुरा उठाउनुभएको छ, यो अत्यन्तै महत्त्वपूर्ण छ ।’

मन्त्री ठकुरीले मन्त्रालयले समितिले दिएका सुझाव पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0