५ कात्तिक, काठमाडौं । सरकारी कार्यालयको वेबसाइटमा एकरुपता कायम गर्ने निर्णय भएको छ । सोमबार सिंहदरबारमा बसेको सचिव बैठकले सरकारी कार्यालयको वेबसाइटलाई एकै खालको बनाउँदै अद्यावधिक गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास गरी प्रयोगमा ल्याएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले प्रयोग गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सरकारी इमेलको प्रयोग एवं सुरक्षाका लागि एकीकृत सरकारी इमेल प्रणालीमा हाल देखिएका समस्या समाधान गर्ने निर्णय गरेको छ ।

यसका लागि गनुपर्ने काम र रणनीतिका सम्बन्धमा सुझाव दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव संयोजक रहेको कार्यदल गठन गरेको छ । कार्यदलमा सञ्चार मन्त्रालयको सूचना प्रविधि महाशाखाका प्रुमख र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रतिनिधि सदस्य छन् ।

सूचना प्रविधि विभागका महानिर्देशकलाई सदस्य सचिव तोकिएको छ । सो कार्यदलले सुझावसहितको कार्ययोजना तयार गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सचिव बैठकमा पेश गर्ने छ ।

सचिव बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एकीकृत डाटा व्यवस्थापन केन्द्रमा आवश्यक स्थायी दरबन्दी थप गरी केन्द्रको स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

एकीकृत डाटा व्यवस्थापन केन्द्रलाई सक्रिय गराएर सूचना प्रविधिको माध्यमबाट सेवाप्रवाह र कार्यसम्पादन गर्ने प्रणालीलाई मजबुत बनाउने र हाल प्रयोगमा रहेका सफ्टवेयरको स्तरोन्नती गर्ने कार्यलाई अगाडि बढाउने निर्णय पनि सचिव बैठकबाट भएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0