काठमाडौँ । फूलपातीको अवसर पारेर प्रदर्शनमा आएका तीन फिल्म ‘छक्का पन्जा– ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ आज बिहिबारबाट तेस्रो सातामा प्रवेश गर्न सफल भएका छन् । यीमध्ये ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ ले आक्रामक व्यापार गरेका छन्, भने ‘ज्वाइँ साब’ले पनि राम्रो कमाइ रहेको निर्माण पक्षको भनाई छ ।

‘छक्का पन्जा’को सिरिजलाई निरन्तरता दिँदै दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले ‘छक्का पन्जा– ५’ बनाएका हुन् । फिल्मको यसअघिका सिरिजको रेकर्ड तोड्दै अगाडि बढेको फिल्मले अहिलेसम्म १७ करोड बढी व्यवसाय गरिसकेको बताइन्छ । तर पहिलो साताको ११ करोड ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको सार्वजनिक भएपछिको ग्रस कलेक्सन आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।

दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा ५’ दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी र मेक्सम गौडेल लगायतको अभिनय छ । फिल्मका कार्यकारी निर्माता निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ छन् ।

‘१२ गाउँ’ कुनै समय नेपाली फिल्म क्षेत्रमा राज गरेका एक्सन स्टार बिराज भट्टले निर्देशन गरेको फिल्म हो । पहिलो साता १० करोड ५ लाख रुपैयाँ कलेक्सन गरेको दाबी गरिएको फिल्मले अहिलेसम्म १३ करोड कमाएको चर्चा छ । केही दिनमै दोस्रो साताको कलेक्सन सार्वजनिक हुने निर्माण युनिट बताउँछ ।

फिल्ममा बिराज भट्टका साथै उनका छोरा समीर, न्यासी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का र दिया मास्केलगायतको अभिनय छ । एक्सनले भरिपूर्ण फिल्ममा ‘१२ गाउँ’ नामक एक प्राचीन गाउँको अत्याचारी शासकविरुद्धको लडाइँको कथा छ ।

यस्तै दीपक–दीपाको टिमबाट बाहिरिएका जितु नेपालको मुख्य भुमिका रहेको फिल्म ‘ज्वाइँ साब’ पनि तेस्रो सातामा प्रवेश गर्न सफल भएको छ । एकसाथ रिलिज भएका तीन फिल्ममा सबैभन्दा कमजोर व्यवसाय गरेको फिल्मले १० दिनमा ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको विवरण सार्वजनिक गरेको थियो । फिल्मको त्यसयताको कलेक्सनबारे जानकारी दिइएको छैन ।

फिल्ममा जितुको अलावा नीति शाह, बुद्धि तामाङ र शिवु पाण्डे अभिनय छ । वसन्त निरौला निर्देशित फिल्म रेड आई फिल्मसको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको हो । फिल्ममा प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0