काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तिहारसम्म रिहा नहुने भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार रविमाथिको अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

रविका सम्बन्धमा कास्की जिल्ला अदालतले थप गरेको म्याद बिहीबारदेखि नै गणना हुनेछ । ७ दिनको म्याद पाएको प्रहरीले रविलाई कात्तिक १४ गतेसम्म हिरासतमा राख्नेछ ।

तर, कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु हुने भएकाले उनलाई सात दिने म्याद सकिएलगत्तै प्रहरीले अदालतमा उपस्थित गराउन नमिल्ने देखिएको हो । तिहार बिदापछि कात्तिक २० गतेमात्र सरकारी कार्यालय खुल्ने छ ।

त्यसैले प्रहरीले रविलाई कात्तिक २० मामात्र अदालतमा उपस्थित गराउने छ । त्यतिबेला फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । त्यतिबेला अदालतले तिहार बिदासमेत गणना हुने गरी म्याद थपबारे निर्णय गर्नेछ ।

त्यसो त, तिहार बिदामा रवि लामिछानेका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट निवेदनसमेत दायर गर्न सकिन्छ । बन्दी प्रत्यक्षीकरणको रिट भने पर्व बिदामा समेत अदालतले हेर्ने छ ।

तर, यसअघि छविलाल जोशीको हकमा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन नै खारेज गरिदिएको थियो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘कास्की जिल्ला अदालतबाट अनुमति प्राप्त भएबमोजिम हिरासतमा रहेको अवस्था देखिएका सन्दर्भमा निवेदकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्न मिल्ने नदेखिँदा मागबमोजिम बन्दी प्रत्यक्षीकरण आदेश जारी गर्न मिलेन, प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0