काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध सरकार राजनीतिक प्रतिशोधमा उत्रिएको बताएका छन् ।

शुक्रबार सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौँको बानेश्वरमा विरोध प्रदर्शनपछि आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै सांसद पराजुलीले सहकारी छानबिन प्रतिवेदनमा ८७ अर्ब अपचलनबारे नखोजी रवि लामिछानेलाई मात्र पक्राउ गरेको बताए । उनले सरकार भ्रष्टाचारीलाई जोगाउन लागि परेको दाबी समेत गरे

‘जीबी राई एक्लैले १६ अर्ब ठगे’ भन्दै उनले जीबी राई पक्राउ गर्न कसले रोक्यो भनेर सरकारलाई प्रश्न गरे ।

उनले संसदीय छानबिन समितिका सभापति सूर्य थापाले रवि लामिछानले कुनैपनि सहकारीबाट रकम नलिएको भनेको भन्दै प्रतिवेदनमा समेत सोही कुरा लेखिएपनि सरकारले प्रमाणविना लामिछानेलाई पक्राउ गरेको दाबी गरे । उनले रास्वपाका कार्यकर्ताले कानुन उल्लंघन गरेको भनेर एमालेले विज्ञप्ति निकालेको भन्दै आफूहरू गिरफ्तारी दिन तयार रहेको बताए । उनले भ्रष्टाचारीमाथि कारबाही नभएसम्म रास्वपाको आन्दोलन नरोकिने चेतावनी दिए ।

‘सरकारमा रहेका दलहरूले हामीलाई देखेर डराएका छन् । थर्थराएका छन्’, उनले भने, ‘हामी षड्यन्त्रको सामना गर्नुपर्छ ।’ कार्यक्रममा रास्वपा बागमती प्रदेशका सभापति अच्युतम लामिछाने, सांसदहरू तोसिमा कार्की, विराजभक्त श्रेष्ठलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0