९ कात्तिक, काठमाडौं । असोज दोस्रो साताको भारी वर्षापछि तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवम् भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले शुक्रबार दिउँसो १ः१५ बजे प्रसारण लाइनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको बताए ।

तामाकोसी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि ४वटा टावरको तार (कन्डक्टर) मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट १३ असोजदेखि विद्युत् प्रवाह बन्द हुँदा खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिंक टुटेको थियो । उक्त लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुन्छ ।

खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनबाट आएको विद्युतलाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ ।

सिन्धुपाल्चोकको भोटेकोसी नदी जनाधार क्षेत्रमा निर्माण भएको जलविद्युत् आयोजनाको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । लाइनमा क्षति पुगेपछि भारततर्फको विद्युत् निर्यात समेत प्रभावित भइरहेको थियो ।

अहिले ईआरएसमार्फत लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माणका लागि प्रक्रिया सुरु भइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आफैंसँग रहेको ईआरएस संरचनाको प्रयोग गरी खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको हो । ईआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए । स्थानीयसँग सहमति जुटाएर ईआरएस टावर राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0