८ कात्तिक, काठमाडौं। अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा प्रहरीले वैदेशिक रोजगारी ठगी मुद्दामा फरार आरोपी सुजन आचार्यलाई पक्राउ गरेको छ ।

नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा रेड नोटिस जारी भएपछि इन्टरपोलको कम्बोडियास्थित एनसीबीले उनलाई डेढ महिना अघि पक्राउ गरेको थियो । अहिले डिपोर्ट गरेर काठमाडौं फिर्ता हुने वित्तिकै उनलाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।

यो मुद्दामा उनकी पत्नी बिनु शाक्यविरुद्ध पनि इन्टरपोलमा नेट नोटिस छ । उनी पनि कम्बोडियामा पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ । तर, उनीलाई हालसम्म डिपोर्ट गरिएको छैन ।

प्रहरीका अनुसार, वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिन्छु भन्दै कम्तिमा ४० जना व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ ।

सुजनविरुद्ध यसअघि पनि विद्युतीय कारोबार सम्बन्धी कसुर, ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुर लगायतका आरोपमा मुद्दा चलिसकेको छ । आचार्य पहिले आफूलाई पत्रकार बताउँदै हिरा लुटपाट र अश्लील भिडियो राखेर ब्ल्याकमेल गरेको आरोपमा पनि पक्राउ परेका थिए । त्यसपछि उनी वैदेशिक रोजगार ठगीमा संलग्न भएका हुन् ।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0