११ कात्तिक, काठमाडौं । गत साता सेयर बजार ४.२९ प्रतिशत घट्यो । साताभर ११८ अंक घटेर २६२७ मा बजार बन्द हुँदा केही कम्पनीको मूल्य भने उच्च दरमा बढ्यो ।

गत साता मूल्य उच्च दरमा बढेका कम्पनीमा अधिकांश फाइनान्स र हाइड्रोपावर समूहका रहे । पिपुल्स हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १९.२५ प्रतिशत बढ्यो । त्यस्तै कुथेली बुकरी स्मल हाइड्रोपावर, समृद्धि फाइनान्स र नेपाल एसबीआई बैंकको मूल्य १० प्रतितभन्दा धेरै बढ्यो ।

गत साता बैंकिङ सेक्टर सबैभन्दा धेरै ५.२८ प्रतिशत घट्यो । त्यसपछि जीवन बीमा समूह ५.१६ प्रतिशत घट्यो । विकास बैंक ४.३०, फाइनान्स ३.११, हाइड्रोपावर २.९६, माइक्रोफाइनान्स ३.८६, निर्जीवन बीमा ३.६३, होटल तथा पर्यटन ४.९९, उत्पादन तथा प्रशोधन ३.२३, लगानी ४.७४, व्यापार २.९२ र अन्य समूह ३.९५ प्रतिशत घटे ।

गत साता मूल्य धेरै घट्नेमा अधिकांश बैंकिङ सेक्टरका कम्पनी रहे पनि एसबीआईको मूल्य भने १० प्रतिशत बढ्यो । यसको प्रमुख कारण हो– तुलनात्मक रुपमा मजबुत वित्तीय विवरण ।
एसबीआईको नाफा ७० प्रतिशत बढेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको सोही अवधिमा यस्तो नाफा ४७ करोड ९१ लाख रुपैयाँ थियो । नाफाको वृद्धिदर उच्च मात्रै छैन, प्रतिसेयर आम्दानीमा पनि यो बैंक स्टान्डर्ड चार्टर्ड र एभरेस्टपछि तेस्रो स्थानमा छ । यस बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ३ पैसा छ ।

बैंकले कर्जा असुली राम्रो सुधार गरेको छ । अधिकांश बैंकको निष्क्रिय कर्जा बढ्दा यसको भने उच्च दरले घटेको छ । गत वर्षको असोज मसान्तसम्म यस्तो कर्जा २.३५ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म आउँदा १.८४ प्रतिशतमा झरेको छ । अर्कोतर्फ यस बैंकको चुक्ता पूँजी न्यून छ । १० अर्ब ५ करोड चुक्ता पूँजी रहेकाले अरुको तुलनामा आपूर्ति हुने सेयर संख्या न्यून छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न पनि बाँकी नै छ । सञ्चित वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0