११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् । कात्तिक अन्तिम साता या मंसिर पहिलो साता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले पुष्टि गरेको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव डाकेर चीनसँगका सम्झौताको प्रगतिबारे फलोअप गर्न निर्देशन दिइएको स्रोतले बतायो ।

सन् २०१७ मै बीआरआई फ्रेमवर्कमा समझदारी भइसके पनि कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै चिनियाँ पक्षले चासो देखाइरहेको छ । बेइजिङ भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले बीआरआईलगायत अन्य चिनियाँ सम्झौताको प्रगतिबारे चासो राखेका छन् ।

नेपालमा नयाँ प्रधानमन्त्री बनेसँगै पहिले दक्षिणी छिमेकी भारतको भ्रमण गर्ने सामान्य प्रचलनजस्तै बनिसके पनि चौथोपल्ट प्रधानमन्त्री भएका ओली राष्ट्रसंघ महासभामा भाग लिने क्रममा अमेरिका पुगेका थिए । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेट गरे पनि उनीहरुबीच सौहार्दता विकास हुन नसकेको बताइन्छ ।

यसै क्रममा ओलीले चीन भ्रमण गर्न लागेका हुन्, जसमा चीनसँगको आर्थिक विकास फ्रेमवर्क बीआरआई, ऊर्जा तथा व्यापार लगायत विषयमा छलफल हुन सक्ने बालुवाटार स्रोतको भनाइ छ ।

‘भारतसँग पनि भ्रमण हुँदै जाला, अहिले चीनको भ्रमण हुन लागेको हो’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘दुईपक्षीय सम्झौता लगायत आवश्यक विकास योजनाको प्रगति विवरण माग्नुभएको छ । भमण तयारी सुरु भइसक्यो भन्ने मानौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0