१२ कात्तिक, काठमाडौं । काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको छ ।

सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना आएपछि चेकजाँच थालिएको नेपाल प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

‘उडानको तयारी भइरहेका बेला ३ः१५ बजे विमानमा बम रहेको भन्दै सूचना आएपछि जाँच थालेका छौं’, एक उच्च प्रहरी अधिकृतले भने, ‘अहिले सेना र प्रहरीका तालिम प्राप्त कुकुरमार्फत डग स्निफिङ पनि गराइराखिएको छ ।’

६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएन ।

पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ । यसले भारतको विमान सेवामै तनाव सिर्जना गराएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उडानमा यस्तो थ्रेट आइरहेको भारतका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अघिल्लो साताको शनिबार मात्र भारतमा एकैदिन ३० वटा धम्कीका सूचना बाहिर आएका थिए ।

यसरी बम राखेको भन्दै गलत सूचना राख्नुको कारण पत्ता लागेको छैन । यद्यपि, कतिपय सञ्चारमाध्यमले यस्ता धम्कीलाई खालिस्तानी अभियानसँग जोडेर हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0