१३ कात्तिक, काठमाडौं । बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो । सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका थिए ।
नेपाल हाउस क्षेत्रलाई पनि प्रहरीले निषेधित क्षेत्र तोकेको थियो । त्यहाँबाट आफूहरु निस्किँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको रास्वपाका नेताहरुले बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जनालाई नियन्त्रणमा लिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बाँकी नेता–कार्यकर्ताहरुलाई प्रहरीले बालुवाटारभन्दा बाहिर पठाइरहेको छ । त्यहीँ उनीहरुले सरकारले धरपकड गरेको भन्दै नाराबाजी गरिरहेका छन् ।
आजको विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको थियो । कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने तयारी थियो । १२ बजेदेखि साढे २ बजेसम्म हुने प्रदर्शनको उपसभापति डीपी अर्यालले समापन गर्ने भनिएको थियो । तर प्रहरीले हस्तक्षेप गरेपछि उनीहरुको पूर्वनिर्धारित कार्यक्रम तालिका प्रभावित भएको छ ।
पक्राउ परेका सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् । रास्वपाले सरकारले राजनीतिक प्रतिशोधले पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।