१२ पुस, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले जिपलाइन सञ्चालनमा ल्याएको छ । पालिकाले निर्माण गरेको जिपलाइनको शुक्रबार एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्री सहित जिल्लाका १२ वटा स्थानीय सरकार प्रमुख तथा छिमेकी जिल्लाका स्थानीय सरकार प्रमुखहरको सहभागितामा जिपलाइन शुभारम्भ गरिएको छ ।
पालिकाले पर्यटकीय गनतव्य बनाउने उद्देश्यले छत्रकोट देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने जिपलाइन निर्माण गरेको हो । जिपलाइनको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख द्रोर्ण खत्रीले स्थानीय सरकारले पर्यटकीय क्षेत्रमा गरेको लागानीले जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।
संरचना निर्माण गर्नुभन्दा पनि यसलाई दिगो रुपमा सञ्चलन कसरी ल्याउन सकिन्छ भनेर ध्यान दिनुपर्ने खत्रीले जोड दिए । गाउँपालिकाले ‘रुरु रेसुङ्गाको धार्मिक आस छत्रकोटमा बसौं बास’ भन्ने नीति नै बनाएर पर्यटकीय गनतव्य निर्माण कार्यलाई तिव्र अगाडी बढाएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
सबैले फरक फरक खालका संरचना निर्माण गरेको खण्डमा जिल्लाभर नै घुम्न लायक बन्ने अध्यक्ष पाण्डेको भनाइ थियो ।
मन्दिर–लुम्छासम्म पुग्नेगरि जिपलाइन निर्माण कार्य गरिएको छ । यसले त्यसक्षेत्रमा रहेका दुईवटा मन्दिर जोडेको छ ।
जसले गर्दा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने स्थानीय भुवन भुसालले बताए । पालिकाले पर्यटन प्रवर्द्धन गर्न पालिकाभित्र संरचना निर्माणसँगै धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गरेर आन्तिरिक पर्यटनलाई थप प्रभावकारी बनाउन अघि बढेको छ ।
छत्रकोट गाउँपालिकाले पर्यटन प्रवर्द्धनमा गरेको यसकार्यले जिल्लाका निम्ति सुखद पक्ष रहेको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन् । उनले यहाँको पर्यटन प्रवर्द्धनमा आफनो पालिकाको तर्फबाट साथ सहयोग रहने बताइन् ।
अघिल्लो आर्थिक वर्षबाट निर्माण सुरु भएको जिपलाइन निर्माण कार्य तोकिएको मिति अगावै सम्पन्न भएको छ । १ हजार ८० मिटर लम्बाई रहेको जिपलाइनको ६७ मिटरको उचाइ रहेको छ ।
जिपलाइनमा औसत १५ देखि २० मिटर प्रतिसेकेन्डमा तौल अनुसारको गति रहेको छ । सुरु स्टेशनदेखि ल्याडिन्ङ स्टेशनसम्म पुग्न अधिकतम ५५ देखि ७७ सेकेन्ड समय लाग्ने अनुमान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरीले बताए ।
जिपलाइनको ८६ लाख ७३ हजार १ सय ४४ रुपैयाँ लागतमा निर्माण भएको हो । लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपुरक बजेटमा सानु सेती देवी कन्ट्रक्सन प्रालिले निर्माण गरेको छ ।
जिपलाइन चढ्नको लागि गाउँपालिका वासीहरुको लागि ४ सय रुपैयाँ, विद्यार्थीहरुको लागि ३ सय रुपैया, पालिका बाहिरका नागरिकको लागि ५ सय रुपैया र विदेशी नागरिकको लागि १ हजार ५ सय रुपैया शुल्क निर्धारण गरिएको पुरीले बताए । पालिकाले निर्माण गरेको जिपलाइनको सम्पूर्ण तयारी पुरा गरेर शुक्रवारबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
छत्रकोट देवालय मन्दिर परिसरमा निर्माण गरिएको जिपलाइनले मन्दिरसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गनतव्य बन्ने पालिकाले लक्ष्य लिएको छ । जिपलाइन निर्माण स्थल रिडी–तम्घास राजमार्गको नजिकै निर्माण भएकाले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने आशा पालिकाले लिएको छ ।