१५ कात्तिक, झापा । पूर्व उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राज्यद्वारा वेपत्ता पारिएका नागरिकको स्थिति अविलम्ब सार्वजनिक गर्नुपर्ने बताएका छन् । नेता श्रेष्ठले बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्ने शान्ति प्रक्रियाको महत्वपूर्ण काम बाँकी रहेको बताए ।

विहीबार झापाको दमकस्थित पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेता श्रेष्ठले सो कुरा बताएका हुन् ।

लामो कसरतपछि सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक राष्ट्रिय सहमतिका साथ पारित भएको बताउँदै श्रेष्ठले भने, ‘टीआरसी विधेयक पारित भएको छ, अब बेपत्ता नागरिकको स्थिति अविलम्ब सार्वजनिक गरिनुपर्दछ ।’

नेता श्रेष्ठले जनयुद्धका दौरानमा सेनाको भैरवनाथ गणवाट बेपत्ता बनाइएका झापाका दाजुभाइ पुष्प बस्नेत र धीरेन्द्र बस्नेत जस्ता योद्धाहरुको योगदानकै कारण मुलुकमा संघीय लोकतन्त्रक गणतन्त्र बहाली भएको बताए । श्रेष्ठले भने, ‘हामी बाँचेकाहरुले शहीद तथा बेपत्ताहरुका सपना साकार पार्नुपर्दछ ।’

झापाको दमक–१ निवासी २६ वर्षीय पुष्पराज बस्नेत र २० वर्षीय धिरेन्द्र बस्नेत २०६० सालमा तत्कालीन शाही नेपाली सेनाको भैरवनाथ गणबाट बेपत्ता पारिएका थिए । उनीहरु दुवै जना स्थानीय भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका छोराहरु हुन् ।

उनीहरुकै सम्मान र सम्झनामा पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठान स्थापना गरी सीटीईभीटी अन्तर्गत गैरनाफामुलक बहुप्राविधिक शिक्षालय सञ्चालन गरिएको अध्यक्ष तिर्थराज बस्नेतले बताए ।

कार्यक्रममा दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाईले पुष्प–धीरेन्द्रको योगदानलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0