१५ कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैंजुको ८३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि पार्किनसन रोगसम्बन्धी समस्या झेल्दै आभएका सैंजुको सानेपास्थित आफ्नै निवासमा मंगलबार साँझ निधन भएको उनको छोरी मीता प्रधानले जानकारी दिएकी छिन् ।

उनले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोगको सदस्य, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्याक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गरेका थिए ।

सुप्रवल गोर्खा दक्षिण बाहु, महेन्द्र विद्या भूषण, प्रवल त्रिशक्तिपट्टबाट उनी सुशोभित थिए ।

पूर्वराजदूत सैंजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी एक सय ५० भन्दा धेरै लेख विभिन्न पत्रपत्रिकामा अंग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन् ।

उनका श्रीमती, एक छोरा, एक छोरी छन् । उनको शुक्रबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0