१४ कात्तिक, काठमाडौं । नेपाली महिला फुटबल टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । बुधबार काठमाडौंमा भएको साफ महिला फुटबल प्रतियोगितामा उपविजेता टोलीसँग प्रधानमन्त्री ओलीले आज भेट गरेका हुन् ।

भेटका क्रममा खेलाडीले आफूहरुले सरकारबाट पाउनुपर्ने साथ सहयोग नै नपाएको गुनासो गरे । खेलाडी प्रीति राईले अहिलेसम्मको आफूहरुको प्रदर्शनबाट सन्तुष्ट नै रहे पनि सरकारको भूमिका प्रति असन्तुष्टि जनाइन् ।

‘तर, मलाई के लाग्छ भने जुन खेलाडीहरुलाई हरेक कुरामा साथ चाहिनुपथ्र्यो त्यो पाएका छैनौं’, भेटमा राईले भनिन्, ‘म्यानेजमेन्टको कुरामा, स्मोस्नली सपोर्टमा । हामी खेलाडीलाई खेलको मात्रै प्रबलम भएमा मात्रै हामी सबै जना फ्रि हुन्थ्यौं ।’

खेलाडी भएवापत् सरकार र सरोकारवाला निकायबाट पाउनुपर्ने साथ नपाउँदा खेलमा पनि आफूहरु ‘डिस्ट्रयाक्ट’ हुनुपरेको गुनासो प्रधानमन्त्री ओलीलाई राखिन् । ‘हामीलाई मन लागेर खेल्न सक्ने वातावरण बनाइदिनोस् !’ उनले भनिन्, ‘तपाईंहरुले फाइनान्सियल सपोर्ट होस्, मेन्टल सपोर्ट होस्, तपाईंहरुले गरिदिनुभयो भने धेरै राम्रो हुन्छ ।

आफूहरुले खेलुञ्जेलमात्रै राम्रो भएको तर, घाइते भएको अवस्थामा पनि अर्को समस्या भोग्नुपर्ने गुनासो राईको थियो ।

भेटमा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेल क्षेत्रको विकासका लागि सरकार सकारात्मक नै रहेको बताए । उनले खेलाडीसँग विभिन्न ऐन, कानुनले गर्दा पनि घोषणा भएसकेका पुरस्कार र सम्मान रकम दिन नसकिएको बाध्यता सुनाए ।

बुधबार भएको साफ महिला फुटबल च्याम्पियनसिफ फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो ।

खेलाडीको गुनासो सुनिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुले राखेको मागप्रति आफू सकारात्मक रहेको बताए । रंगशाला पुरानो भइसकेकाले नयाँ रंगशालाका लागि ठाउँ खोजी भइरहेको र चाँडै बन्नेसमेत उनले खेलाडीलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0