काठमाडौँ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि गम्भीर छानबिन गर्न माग गरेको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलकी प्रमुख सचेतक गीता तिम्सिनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रदेश र देशकै स्वाभिमान गिराउने मानव तस्करी तथा सरकारी कागजात किर्तेलगायतको विषयमा गम्भीर छानबिनको लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीको जापान भ्रमण विवाद भएपछि उनले बुधबार राजीनामा दिएका थिए ।
‘कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको जापान भ्रमणपछि आएको राजीनामा र त्यससँग सम्बन्धित सार्वजनिक भएका विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रदेश सरकारले राजधानीबाहिर मन्त्रीहरू जाँदा पनि मुख्यमन्त्रीको अनुमति लिनुपर्नेगरी आचारसंहिता बनाएको छ । विदेश भ्रमणमा जाँदा त प्रदेश मन्त्रिपरिषद्को निर्णयसहितको सिफारिसको आधारमा संघीय सरकारले सहमति दिनुपर्ने प्रावधान रहेको छ,’ माओवादीले विज्ञप्तिमा भनेको छ, ‘त्यसविपरित कूटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा जानु र मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिंगो प्रदेशवशीको शिर निहुरिएको छ ।’
जिम्मेवार मन्त्री सरकारी कार्यक्रमको नाममा सामान्य प्रक्रियासमेत पुरा नगरी विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री र प्रदेश सरकार कसरी बेखबर रहे भन्दै माओवादी केन्द्रले प्रश्न समेत गरेको छ ।
मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिसँगै मानव तस्करहरुको गिरोहमार्फत सरकारी कागजात किर्ते गरेका व्यक्तिहरू जापान प्रवेश गर्न खोज्नु गम्भीर विषय भएको माओवादीले उल्लेख गरेको छ । त्यसमाथि प्रदेशको मन्त्रीलाई जापान सरकार विमानस्थलबाट डिपोर्ट गरेर फिर्ता गरेको लज्जास्पद घटनाबारे एक सातासम्म प्रदेश सरकार रमिते बन्नु खेदजनक रहेको भन्दै माओवादीले यो प्रकरणमा राजीनामा गराएर उन्मुक्ति दिने प्रयास गरिएको आशंका बढेको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीसँगै गएका व्यक्तिहरूसँग मन्त्रालयकै कर्मचारीको नक्कली परिचयपत्र हुनु, त्यही परिचयपत्रको आधारमा उ कार्यक्रममा सहभागी हुन मन्त्री र ती व्यक्तिहरूको भिसासहित हवाईटिकको प्रबन्ध हुनु रहस्यमयी देखिएको छ । जिम्मेवार सरकारी कर्मचारीले मन्त्रीलाई आएको भनिएको निम्ताप्रति नै प्रश्न उठाउँदै विदेश नजान दिएको सुझाव मन्त्रीले अस्वीकार गर्नु र नेपालबाट जापानमा सिधै उडान भएपनि हङकङ ट्राञ्जिट भएको उडान प्रयोग गर्नुले यो प्रकरण गम्भीर लापरबाही मात्र नभएर उच्चपदस्त व्यक्तिहरूको मिलेमतो र योजनामा भएको नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै मानव तस्करी प्रकरण त हैन भन्ने आशंका पैदा भएको छ ।’
माओवादी केन्द्रले नेपाली कांग्रेस र एमालेको गठबन्धन माफिया, भ्रष्ट, दलाल तथा गलत धन्दा चलाउने गिरोहको संरक्षणको लागि बनेको तथ्यलाई यो प्रकरणले उजागर गरेको जनाएको छ ।