२३ कात्तिक, विराटनगर। दुई पटक कारागारबाट भागेका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।

२०६५ सालमा एक व्यक्तिको हत्यामा दोषी देखिएका सुनसरीको इनरुवा नगरपालिका-१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई बिहीबार सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो ।

विनायककुमार र श्याम भन्ने श्यामकुमार यादवले २०६५ साल वैशाख १६ गते सुनसरीको साविक प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीको गोली हानी हत्या गरेका थिए । सो घटनापछि प्रहरीले विनायकलाई एक थान पेस्तोल र ११ राउण्ड गोलीसहित पक्राउ गरेको थियो । यादवलाई जिल्ला अदालत सुनसरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष ८ महिना १४ दिन कैद फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि थुनामा रहेका विनायक २०६९ साल कात्तिक २३ गते राति झुम्का कारागारबाट सुरुङ खनेर भागेका थिए । उनीसहित अन्य १२ जनासमेत कारागारबाट भागेका थिए ।

लगतै सप्तरीको गोबरगाडाबाट पक्राउ परेका उनलाई सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीको लागि पठाइएको थियो । तर उनी २०७२ वैशाख १२ गतेको भूकम्पका बेला फेरि पनि कारागारबाट भागेर भारत गएका थिए । मधेशी मुक्ती टाइगरको नामबाट पनि आपराधिक गतिविधि गर्ने यादव भारतको सुपोलस्थित दिदीको घरमा गएर बसेका थिए ।

छठ पूजाका लागि विहीबार नेपाल आउँदै गर्दा उनलाई प्रहरीले पक्रेको हो । बिहीबार कोशी गाउँपालिका–८ स्थित पथरचट्टान भन्ने ठाउँबाट विनायक यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिम्सिनाले बताए ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले घुँडामुनि ताकेर एक राउण्ड गोली चलाएको थियो । तर उनलाई लागेन । गोली चल्दा आत्तिएर लडेका यादवलाई प्रहरीले नियन्त्रणमा लिई शुक्रबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ ।

यादवलाई बाँकी सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले बताएको छ । उनले अब भुक्तान हुन बाँकी रहेको सजायको डेढी सजाय भोग्नु पर्नेछ । कारागार ऐन २०१९ को दफा २४ को ३ मा ‘कैद म्याद ठेकिएको कैदी भागेमा पक्रिएपछि निजलाई बाँकी कैदको डेढी बढाइ सजाय हुने’ प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0