नयाँ दिल्ली । बलिउडका सुपरस्टार सलमान खानकी पूर्व प्रेमिका तथा पूर्व अभिनेत्री सोमी अलीमाथि हमला भएको छ । अली व्यावसायिक जीवन र खुलेर बोल्ने बानीका कारण प्रायः चर्चामा रहन्छिन् । यस पटक भने उनी चोटका कारण हेडलाइनमा छिन् । मानव बेचबिखनमा परेकी एक महिलालाई बचाउने क्रममा आफ्नो हात भाँचिएको र धेरै चोट लागेको उनले बताएकी छिन् ।

अभिनेत्री तथा सामाजिक अभियन्ता अलीले हालै मानव बेचबिखनमा परेकी पीडितलाई बचाउन खोज्दा आफूमाथि आक्रमण भएको र घाइते भएको खुलासा गरेकी छिन् । महिलालाई बचाउने क्रममा तस्करहरूले आफ्नो हात बटारिदिएको र यसका कारण हात फ्र्याक्चर भएको उनले बताइन् । ‘म धेरै पीडामा छु अनि ओछ्यानमा सुतिरहेको छ ।’ भन्दै उनले पोस्ट गरेकी छिन् ।

आफूलाई निको हुन ६ देखि ८ हप्ता लाग्ने पनि उनले बताएकी छिन् । घटनाबारे खुलासा गर्दै सोमीले भनिन्, ‘प्रहरीसँग मिलेर म पीडितलाई बचाउने प्रयास गर्छु । पीडितलाई घरबाट बाहिर निकाल्दासम्म मलाई आफ्नै कारबाट बाहिर निस्कने अनुमति हुन्न ।’ यस पटक पीडितलाई बचाउन आफू कारबाट निस्किएको र यसै क्रममा आफूमाथि हमला भएको उनले बताइन् ।

‘अचानक तस्करहरू आए, एकजनाले मेरो बायाँ हात समातेर यसरी घुमाए कि म पीडाले चिच्याउन थालेँ ।’ यस क्रममा हात फ्रयाक्चर भएको उनको भनाई छ । आफू निकै पीडामा भएको पनि उनले बताइन् । चोटका कारण बायाँ हात सुन्निएको, हात हल्लाउन पनि नसकेको र केही हप्ता यसैगरी प्लाष्टर लगाएर बस्नु पर्ने उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0