३० कात्तिक, काठमाडौं । शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

गुरुनानकको जन्म वि.सं. १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उनले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका थिए । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत उनैले गराएका थिए । त्यसैले प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन उनको योगदानको स्मरण गर्दै गुरु नानक जन्मजयन्ती मनाउने गरिन्छ ।

यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ ।

शिखको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लंगर परम्परा’को थालनी गरेका थिए । निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्दथे ।

उपराष्ट्रपतिले दिए शुभकामना

यसैबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख धर्मका प्रवर्द्धक गुरुनानकले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन् ।

गुरुनानक जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले विद्यमान सबैखाले विकृति, विसङ्गति र विभेद अन्त्य गरी समतामूलक, शान्त, सौम्य, सभ्य र सुसंस्कृत समाजको निर्माणमा दत्तचित्त भई लाग्न आजका दिनले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका हुन् ।

उपराष्ट्रपति यादवले गुरुनानक जयन्तीले राष्ट्रिय एकता, समाजमा समता, साम्प्रदायिक एकता, सहिष्णुता, भाइचारा, शान्ति, सद्भाव, आपसी मेलमिलाप र सामाजिक न्यायका आदर्शलाई आत्मसात गर्न उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शिख समुदायमा सुख, शान्ति र सु–स्वास्थ्यकव् कामनासमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0