५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ चार महिनामा १३ प्रतिशतमात्र बजेट खर्च गरेको छ ।

बजेटमार्फत महानगरपालिकाले थपेको गौरवका योजना र स्वर्णिम योजना बाहेक २ अर्ब ७० करोड ३३ लाख ८० हजार खर्च गरेको हो । महानगरले थप ११ गौरवका योजना र ३० स्वर्णिम योजना बाहेक २० अर्ब ३७ करोड २७ लाख खर्च गर्ने लक्ष्य राखेको थियो ।
कुल २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बजेटमध्ये ढलरहित नदीनालाको ३ अर्ब ८० करोड थप ३० स्वर्णिम योजनालाई २ अर्बको बजेट घोषणा भएको थियो ।

महानगरले आर्थिक विकासतर्फ ७३ करोड ३३ लाख ७१ हजारमध्ये ११ करोड २० लाख ७० हजार खर्च गरेको छ । जुन १५.२८ प्रतिशत हो ।

यस्तै सामाजिक विकासतर्फ विनियोजन भएको ४ अर्ब ९९ करोड ६८ लाखमध्ये ७.७२ प्रतिशत अर्थात् ३८ करोड ५६ लाख ३४ हजार खर्च भएको छ । सबैभन्दा धेरै बजेट रहेको पूर्वाधारतर्फ ७ अर्ब ६२ करोड ५० लाख ११ हजारमध्ये ७८ करोड ६२ लाख ३४ हजार अर्थात् १०.३१ प्रतिशत खर्च गरेको छ ।

त्यस्तै सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा २ अर्ब ९६ करोड ५८ लाखमध्ये ५.५३ प्रतिशत अर्थात महानगरको १३ करोड ३८ लाख ७४ हजार खर्च भएको देखिन्छ । महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १ अर्ब २५ करोड ५५ लाख ६५ हजार खर्च भइसकेको छ । जुन विनियोजित बजेट ४ अर्ब ५ करोड १५ लाखको ३०.९९ प्रतिशत हो ।

महानगर वित्त विभागका अनुसार यो खर्चबाहेक पनि थपिएको गौरवका योजना र स्वर्णिम योजनामा खर्च भएको छ ।

‘क्रमागत र थपिएका योजनाको अन्तिममा एकीकृत खर्च देखिन्छ । अहिले देखिएको छैन । त्यसले पनि खर्च बढाउँछ,’ वित्त विभागका एक अधिकारी भन्छन् ।

एक चौथाइ आम्दानी

महानगरले आम्दानी पनि एक चौथाइ गरिसकेको छ । उसले कुल १२ अर्ब ९० करोड ६३ लाख २५ हजार राजस्व उठाउने लक्ष्य लिएकोमा ३ अर्ब १६ करोड ७८ लाख ११ हजार अर्थात् २४.५४ प्रतिशत उठाएको छ ।

२५ अर्ब ७० करोड ६३ रुपैयाँको बजेट ल्याउँदा महानगरसँग ११ अर्ब ३० करोडभन्दा बढी मौज्दात थियो । त्योबाहेक महानगरले बजेटमा राखेको लक्ष्यमा २४.५४ प्रतिशत उठाउन सफल भएको हो । महानगरले साउनदेखि कात्तिक मसान्तसम्म आन्तरिक राजस्व लक्ष्यको २४.७७ प्रतिशत उठाएको छ । आन्तरिक राजस्व ८ अर्ब ३ करोड ५७ लाख लक्ष्य राखेकोमा १ अर्ब ९९ करोड ४६ लाख उठाएको हो ।

आन्तरिक राजस्वतर्फ सबैभन्दा धेरै ९४ करोड ८५ लाख रुपैयाँ घरबहाल कर उठाएको छ । यस्तै सम्पत्ति कर ५० करोड ३१ लाख राजस्व महानगरले उठाएको छ ।

यस्तै महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्वमा २ अर्ब ५० करोड २६ लाखको लक्ष्य राखेकोमा ४६ करोड २४ लाख रुपैयाँ अर्थात् १८.४८ प्रतिशत संकलन गरेको छ ।

महानगरले राजस्व स्रोतमा राखेको आन्तरिक अनुदानमा लक्ष्य हासिलको अवस्था राम्रो देखिन्छ । २ अर्ब ३६ करोड ७८ लाखमध्ये ७१ करोड ४९ लाख ४४ हजार राजस्व उठेको छ ।

महानगरको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाबाट हुने आम्दानी कुल १ अर्ब ५० करोड छ ।

गत वर्ष ५१ प्रतिशत खर्च

काठमाडौं महानगरले गत आव २०८०/८१ मा २४ अर्ब १९ करोड ८४ लाख बजेट विनियोजन गरेको थियो । त्यसमा ५१ प्रतिशत खर्च प्रगति हासिल गरेको थियो । गत आवको वार्षिक समीक्षा प्रतिवेदन अनुसार पछिल्लो पाँच वर्षमा भएको खर्च दरमध्ये सबैभन्दा उच्च हो ।

गत आवमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा विनियोजित रकमको ७३ प्रतिशत खर्च भएको छ । सबैभन्दा कम खर्च भएको क्षेत्र आर्थिक विकास हो । यसमा ३८ प्रतिशत खर्च भएको छ ।

यसैगरी सामाजिक विकास क्षेत्रमा विनियोजनको ६० प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३२ प्रतिशत र पूर्वाधार विकासमा ४६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।

वित्तीय प्रगति न्यून

महानगरले गत आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन अनुसार टेन्डर गर्दा निर्माण, वस्तु मालसमान, परामर्श र अन्य सेवा सबैको कबोल रकम प्रायः न्यून हुने गर्दछ । यसकै कारण यथार्थ लागत अनुमान हुने गरी बजेट विनियोजन गरिएका शीर्षक पूर्ण कार्यान्वयनमा आए पनि वित्तीय प्रगति न्यून नै हुने गर्दछ ।

गत आवमा सार्वजनिक निर्माण विभागको नियमित क्रियाकलापमा वित्तीय प्रगति ४३ प्रतिशत भएको छ भने भौतिक प्रगति ५९ प्रतिशत हासिल भएको छ ।

कृषि तथा पशुपन्छी विभाग अन्तर्गत २४ प्रतिशत वित्तीय प्रगति हुँदा ३५ प्रतिशत भौतिक लक्ष्य हासिल भएको छ । शिक्षा विभागको वित्तीय प्रगति ६१ प्रतिशत हुँदा भौतिक प्रगति ९१ प्रतिशत भएको छ । वातावरण व्यवस्थापन विभागको वित्तीय प्रगति ३७ प्रतिशत हुँदा भौतिक प्रगति ४० प्रतिशत पुगेको छ ।

स्वास्थ्य विभागको बजेट २६ प्रतिशत खर्च हुँदा भौतिक प्रगति ८६ प्रतिशत हासिल भएको देखिन्छ । सम्पदा तथा पर्यटन विभाग (स्वर्णिम र गौरव सहित) को वित्तीय प्रगति १८ प्रतिशत हुँदा भौतिक प्रगति ३१ प्रतिशत पुगेको छ ।

त्यस्तै सूचना प्रविधि विभाग (स्वर्णिम र गौरव समेत) को २५ प्रतिशत वित्तीय प्रगति हुँदा भौतिक प्रगति ३१ प्रतिशत हासिल भएको छ । सामाजिक विकास विभागले ५२ प्रतिशत बजेट खर्च गरी ७६ प्रतिशत भौतिक लक्ष्य हासिल गरेको देखिन्छ ।

त्यस्तै आन्तरिक लेखा परीक्षण एकाइको वित्तीय खर्च ८५ र भौतिक प्रगति ८६ प्रतिशत छ । सार्वजनिक–निजी साझेदारी एकाईको वित्तीय प्रगति ३२ प्रतिशत हुँदा भौतिक प्रगति ९६ प्रतिशत देखिएको छ ।

राजस्व विभागले २७ प्रतिशत वित्तीय खर्च गरी ४१ प्रतिशत भौतिक लक्ष्य हासिल गरेको छ । योजना, अनुगमन तथा मूल्यांकन एकाइले ४३ प्रतिशत वित्तीय प्रगति हासिल गरी ८५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।

८५७ लाई रोजगारी, ५५ किलोमिटर कालोपत्र

महानगरले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार काठमाडौं महानगरले एक वर्षमा ८ सय ५७ जनालाई रोजगारी दिएको छ । महानगरको २०८०/८१ को भौतिक तथा वित्तीय प्रगति प्रतिवेदनमा श्रम बैंकमा आबद्ध ५ सय २८ लाई महानगरपालिकाभित्र र ३ सय २९ लाई निजी क्षेत्रमार्फत रोजगारी प्रदान गरिएको उल्लेख छ ।

प्रतिवेदनमा यसबाहेक प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत थप १ हजार जनालाई रोजगारी प्रदान गरिएको उल्लेख छ । यस्तै गत वर्ष प्रदेश सरकारबाट सिफारिस भएर आएका ७१ कर्मचारीलाई पदस्थापन गरिएको प्रतिवेदनमा छ ।

यस्तै ५५.४० किलोमिटर सडक कालोपत्र, १०.३१ किलोमिटर सडक ढलान, १२.२५ किलोमिटर ढल राख्ने, ३२.४७ किलोमिटर ब्लक छाप्ने, १ हजार ७ सय ७७ वर्गमिटर ढुंगा छाप्ने, ३.१८ किलोमिटर रिटेनिङ वाल लगाउने काम भएको उल्लेख छ ।

सार्वजनिक निर्माण अन्तर्गत १६ वटा भवन निर्माण सम्पन्न भए तथा ९ वटा पार्क निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । समीक्षा वर्षमा चालु र क्रमागत गरी ८ अर्ब ९२ करोड लागतका ३ सय ५८ योजना थिए । ४५ वटा मूर्त सम्पदा सम्बन्धी योजना सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0