५ मंसिर, काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल तीन वटा सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनीमाथि सुप्रिम, नाता र स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । उनी सार्वजनिक कार्यक्रममा सक्रिय छन् तर प्रहरीले कारबाही अघि बढाएको छैन ।

स्वर्णलक्ष्मी सहकारी ठगीको फाइल प्रहरी वृत्त कालिमाटीबाट ल्याएर जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंले अनुसन्धान अघि बढाउने क्रममा २४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारी ठगी प्रकरणमा तीन चरणमा पक्राउ पुर्जी जारी भएको छ । पहिलो चरणमा प्रहरी वृत्त कालिमाटीकै अनुरोधमा सञ्चालक समितिका व्यक्तिहरुविरुद्ध २१ वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो ।

दोस्रो चरणमा फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालसहितका व्यक्तिविरुद्ध २ भदौमा पक्राउ पुर्जी जारी भयो । र, अहिले तेस्रो चरणमा २ मंसिरमा रवि लामिछाने र छविलाल जोशीसहित गरी २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । पुर्जी जारी भएका मध्ये सुनिता नेवारलाई २० कात्तिकमा र कमल लामालाई २४ कात्तिकमा परिसरको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

तर पक्राउ पुर्जी जारी भएका उपाध्यक्ष बराल भने अहिले पनि सार्वजनिक कार्यक्रममा सक्रिय छन् । विभिन्न कार्यक्रममा सहभागी भएको तस्वीर उनी आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । तर उनीविरुद्ध प्रहरीले कारबाही अघि बढाएको छैन ।

नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित बराल जोडिएको स्वर्णलक्ष्मी सहकारीले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी परेको ९ महिनापछि बल्ल प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यता जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारी भने स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानले तीव्रता पाएकाले कोही कसैले पनि उन्मुक्ति नपाउने बताउँछन् । उनी भन्छन्, ‘पक्राउ पुर्जी जारी भएकाहरुमध्ये अन्य सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा छन् । केही अहिले पक्राउ परेर हाम्रो हिरासतमा छन् । अनुसन्धानलाई तीव्रता दिएका छौं ।’

अदालतमा समेत मुद्दा

यसअघि गाउँपालिका उपाध्यक्ष बरालविरुद्ध दुई वटा सहकारीमा पक्राउ पुर्जी जारी भएर अदालतमा मुद्दा समेत गइसकेको छ । जीबी राई जोडिएको सुप्रिम र स्वर्णलक्ष्मी दुबैमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बराल सहकारीमा जीबी राईको साझेदार रहेको खुलेको छ ।

२५ माघ २०७२ मा बराल मैत्रेय बचत तथा ऋण सहकारी संस्था रुपन्देहीको सञ्चालक समितिमा थिए । ३ फागुन २०७२ गतेको विशेष साधारण सभाले सहकारीको नाम परिवर्तन गरेर सुप्रिम बचत तथा ऋण सहकारी संस्था राख्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि सहकारीको सञ्चालक समिति पनि पुनर्गठन गरिएको थियो । सहकारीमा जीबी अध्यक्ष र राजु सचिव भएका थिए ।

यही सुप्रिम सहकारीले १ हजार बढी बचतकर्ताको करिब १ अर्ब रकम अपचलन गरेको भन्दै २८ जनाविरुद्ध ३ वैशाखमा मुद्दा दायर भएको थियो । प्रहरीले उनीविरुद्ध फरार प्रतिवादी बनाए पनि बराल त्यतिबेला पनि गाउँपालिकाकै कुर्सीमा थिए ।

यसअघि काठमाडौंको पुतलीसडकस्थित नाता बचत तथा ऋण सहकारीमा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सो सहकारी संस्थाले ७२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा बराल पनि संलग्न देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । बराल नाता सहकारीको उपाध्यक्ष थिए । तर उनलाई पक्राउ नगरी गत माघमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यतिबेला बरालसहित ११ जनालाई प्रतिवादी बनाउँदै ७२ लाख रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।

सुप्रिम र नाता सहकारी दुवैको मुद्दा अहिले अदालतमा विचाराधीन छ । यही बेला बरालविरुद्ध स्वर्णलक्ष्मी सहकारीमा पनि पक्राउ पुर्जी जारी भएको हो ।

तीन वटा सहकारी ठगीका आरोपी बराल यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा फिक्कल गाउँपालिका–५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

उनीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन भने सकेन । फिक्कल गाउँपालिकाको वेबसाइटमा राखिएका उनका दुवै मोबाइल नम्बरमा सम्पर्क स्थापित हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0