७ मंसिर, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो ।
दुर्घटनापछि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । लिम्बुलाई झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा लगिएको थियो । धिमाल र गुरुङको अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो भने लिम्बूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुई वटा मोटरसाइकलमा चार जना सवार थिए । ओभरटेक गर्न खोज्दा दुई वटा मोटरसाइकल ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीका अनुसार ८४०६ नम्बरको मोटरसाइकलले अगाडि रहेको सवारी साधनलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकलसँग ठोक्किएको थियो ।
दुर्घटनामा पथरीशनिश्चरे–५ का ३० वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएको प्रहरीले बताएको छ । उनको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।