दोलखास्थित गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि १६ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लो निर्वाचनको मतपरिणाम हेर्दा १६ मंसिरमा हुने उपनिर्वाचनमा प्रमुख तीन दलबीच, त्यसमा पनि एमाले–माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

२०७९ सालको निर्वाचनमा गौरीशंकरमा पहिलो दल बन्दै अध्यक्षसहित पाँच वडामा माओवादी केन्द्रले जितेको थियो । गौरीशंकरको नेतृत्व सम्हालिरहेको माओवादीले उपाध्यक्षमा निमलेकी शेर्पालाई उम्मेदवार बनाएको छ । २०६८ सालदेखि माओवादीमा क्रियाशील शेर्पा हाल गौरीशंकर पालिकाको कोषाध्यक्ष छन् । माओवादी उम्मेदवार शेर्पासँग चुनावी अवस्थाका बारेमा गरिएको संवादः

तपाईंलाई माओवादी केन्द्रले उपाध्यक्षको उम्मेदवार बनाएको छ । मतदाताबीच के एजेन्डा लिएर गइरहनुभएको छ ?

चुनावी चहलपहल बढेको छ । जितेपछि मैले गर्ने कामहरू लिएर जनतामा पुगिरहेकी छु । म गाउँमै बसेर हिजो पनि जनताको सेवामा थिएँ । हिजो निश्चित ठाउँमा खासगरी स्वयंसेविका र मेलमिलापकर्ता भएर काम गरें । सडक निर्माण, बिजुली विस्तार लगायतका विकास निर्माणका काममा पहिलेदेखि नै म अग्रसर थिएँ । जनप्रतिनिधि बनेपछि गर्ने काम यस्तै त होे नि !

अघिल्लोपटक माओवादीले कांग्रेससँग गठबन्धन गरेर चुनावमा जित्नुभएको थियो । अहिले तपाईंहरू एक्लै प्रतिस्पर्धा गर्दैहुनुहुन्छ, चुनौती थपियो है ?

गठबन्धन नहुँदा पनि हामीलाई खासै असर गर्दैन । अध्यक्ष र पाँचवटा वडामा हामीले जितेका छौं । जनता माओवादीप्रति सकारात्मक छन् । माओवादीको माहोल र मतदाता बढेको छ ।

कांग्रेस–एमाले र देशको अहिलेको राजनीति हेरेर बरू माओवादी ठीक हो कि भन्ने जनतालाई लागेको छ । एमाले र कांग्रेसका युवाहरूले माओवादी पार्टी ठीक छ भन्न थालेका छन् ।

हाम्रो गाउँपालिकामा माओवादीको अध्यक्ष भएको हुँदा अरु पार्टीले जितेर खासै काम छैन भनेर जनताहरूले भनिरहनुभएको छ । माओवादीले नै जित्यो भने राम्रो हुन्छ भन्ने जनविश्वास छ ।

माओवादीले आफ्नो मुख्य प्रतिस्पर्धी शक्ति कुन दललाई मानेको छ ?

यहाँ उपाध्यक्षमा कांग्रेस, एमाले, एकीकृत समाजवादी, रास्वपासहित स्वतन्त्रहरू पनि उठेका छन् । हाम्रो प्रतिस्पर्धा कांग्रेस–एमालेसँग नै हो । दुवै पार्टीले हामी जित्छौं भने पनि अहिलेको अवस्था हेर्दा अलि बढी प्रतिस्पर्धा एमालेसँग हुने देखिएको छ ।

माओवादीले जित्ने दाबी के आधारमा गर्नुभएको हो ?

अरु पार्टी पनि चुनावमा छन् । उनीहरू काठमाडौंतिरै बस्ने हुन् । मैले गाउँमै बसेर जनताको सेवा गरेकी छु । हाम्रो एजेण्डा राम्रो छ । माओवादी दलित, जनजातिको पार्टी हो । जनताको नजिक भएको, जनप्रतिनिधि हाम्रो धेरै, संगठन बलियो भएको हिसाबले जित्छौं ।

माओवादीले राम्रो गरेको जनताले बुझेका छन् । माओवादी सरकार किन ढल्यो ? किन कांग्रेस एमालेको सरकार रातारात बन्यो भन्ने कुरा जनताले बुझिरहेका छन् । अहिले त जनतालाई भनिराख्नु पनि नपर्ने रहेछ ।

माओवादीबाट जितेका जनप्रतिनिधिले त्यहाँ राम्रो कार्य नगरेको गुनासो रहेछ । यो अवस्थामा तपाईंलाई के भनेर मत दिने ?

उहाँहरूको कार्यकाल सिद्धिएको छैन । दुई वर्ष बाँकी छ । विकास भनेको सबै एकैचोटी हुँदैन । काम त हुँदैछ नि !

म प्रत्येक वडामा घुमें । माओवादीले जितेर काम गरेन भन्ने जनगुनासो खासै भेटिनँ मैले । कुनै कुनै ठाउँमा अलि अलि गल्ति त हुन्छ, तर उहाँहरूको कार्यकाल सकिएको छैन । अझै काम गर्ने समय बाँकी छ ।

पहिले अरु दलको जनप्रतिनिधि हुँदा काममा ५० प्रतिशत भ्रष्टाचार हुने गरेकोे जनताले भन्नुभएको छ । माओवादीले राम्रो गरेको भन्नुभएको छ । हामीले देखेको पनि त्यही हो । विकासका कामहरू माओवादीका जनप्रतिनिधिले गरिरहेका छन्, कुनै बाँकी छन् ।

अघिल्लो निर्वाचन तपाईं वडा सदस्यमा पराजित हुनुभएको रहेछ । वडा सदस्यमा हारेको व्यक्तिले उपाध्यक्ष कसरी जित्ला र भन्नेहरू रहेछन् नि ?

हामी हारेको भन्दा पनि जितेकै सम्झनुपर्दछ । त्यो बेला जुगुमा घटना हुँदा एकजना मान्छे बिते । त्यस्तो नभएको भए हामीले जित्ने थियौं । भागाभाग हुने स्थिति थियो । जनता हाम्रो पक्ष हुँदा पनि प्यानल नै हार्‍यौं । सदस्यमा हार्दा सबैभन्दा कम अन्तरले हारेकी हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0