संसदीय प्रक्रियामा झुक्किए सभामुख, एउटै सम्झौता दुई पटक पारित

२४ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरे संसदीय प्रक्रियामा झुक्किँदा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता एकै दिन प्रतिनिधि सभाबाट दुई पटक पारित हुन पुगेको छ ।

प्रतिनिधि सभामा सुरुमा सभामुख घिमिरेले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतलाई सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए । मन्त्री बस्नेतले छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

त्यसपछि उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरे । सभाले सर्वसम्मत स्वीकार गर्‍यो । त्यसपछि सांसदहरूले सम्झौताका प्रावधानहरूमाथि धारणा राखे ।

सांसदहरूले धारणा राख्नेक्रम सकिएपछि सभामुख घिमिरेले मन्त्री बस्नेतलाई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन समय दिए ।

मन्त्रीले जवाफ दिइकेपछि सभामुख घिमिरेले सम्झौता अनुमोदन गर्ने प्रस्ताव पेस गर्न समय दिनुपर्ने थियो । अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने समय नै नदिएर सभामुख घिमिरेले सिधै निर्णयार्थ पेस गरे ।

सभामुखले हुन्छ र हुन्न भन्न लगाएपछि बहुमत सांसदहरूले हुन्छ भने । नेमकिपाका सांसद प्रेम सुवालले हात उठाएर हुन्न भने ।

त्यसपछि सभामुख घिमिरेले सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरे । जबकि अनुमोदन गरियोस् भन्ने प्रस्ताव नै पेस भएको थिएन ।

संसद् सचिवालयका कर्मचारीहरूले त्रुटि भएको बताए । त्यसपछि सभामुख घिमिरेले त्रुटि भएको भन्दै फेरि प्रक्रिया अगाडि बढाए ।

‘माननीय सदस्यहरू हामीले एउटा सन्दर्भ अलिकति तलमाथि पर्न गएर सच्याउनुपर्ने भयो । माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीज्यूले सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव टेबल गर्ने एउटा प्रस्ताव थियो । त्यो हामीले छुटाउन गएछौं’ सभामुख घिमिरेले भने ।

त्यसपछि सभामुख घिमिरेले ऊर्जा मन्त्री शक्ति बस्नेतलाई सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए । मन्त्री बस्नेतले अनुमोदनका लागि प्रस्ताव पेस गरे ।

त्यसपछि ‘माननीय सदस्यहरू त्यो त्रुटि भएपछि अरू कुराहरू पनि सच्याउनुपर्ने हाम्रो स्थिति छ । त्यसैले म प्रक्रियालाई अगाडि बढाउँछु’ भन्दै सभामुख घिमिरेले पुनः सम्झौता अनुमोदनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे । फेरि पनि बहुमत सांसदहरूले हुन्छ भने । नेमकिपाका सांसद प्रेम सुवालले हात उठाएर हुन्न भने ।

हुन्छ भन्ने पक्षका सांसदहरूको बहुमत भएपछि त्यसअनुसार सभामुख घिमिरेले बहुमतका आधारमा सम्झौता अनुमोदन भएको घोषणा गरे ।

अर्को कार्यसूचीमा प्रवेश गर्नु अगाडि सभामुखले सचिवालयका कर्मचारीहरूलाई सोधे, ‘अब चाहिं सिद्धियो होइन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *