१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न त्रिवि मैदान पुगेका दर्शकसँग धकेलाधकेलपछि झडप हुँदा गम्भीर घाइते भएका प्रहरीको होस खुलेकाे छ ।

धकेलाधकेल र झडपमा संघीय संसद् सुरक्षा बेस, नयाँ बानेश्वरमा कार्यरत २६ वर्षीय प्रहरी जवान अजय तामाङ र २८ वर्षीय दानबहादुर राउतसहित ७ जना घाइते भएका थिए ।

उनीहरूमध्ये जवान तामाङको अवस्था गम्भीर थियो ।

अचेत रहेका उनलाई कीर्तिपुर अस्पतालमा सामान्य उपचार पछि वीर अस्पताल रिफर गरिएको थियो । त्यहाँबाट उनलाई बाँसबारीस्थित न्युरो अस्पताल लगिएको थियो ।

अहिले भने उनको स्वास्थयमा सुधार आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । ‘हिजो अचेत अवस्थामा रहेका जवानको स्वास्थ्यमा सुधार आएको छ । अहिले उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ,’ एसपी अधिकारीले अनलाइनखबरसँग भने ।

शनिबार दिउँसो जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीचको खेल हेर्न पुगेका दर्शकबीच धकेलाधकेल हुँदा केहीबेर झडपको अवस्था सिर्जना भएको थियो । अन्य घाइतेहरुको अवस्था पनि सुधारोन्मुख रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0