१७ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमको ठूलो आकार (वाइड बडी) जहाज खरिद प्रकरणमा घुस लेनदेन गरेको भन्दै नेपाली मूलका बेलायती व्यवसायी दीपक शर्मा दोषी ठहर भएका छन् ।

अमेरिकी संघीय कानुन ‘फरेन करप्ट प्राक्टिसेस एक्ट’ (एफसीपीए) को घुसविरुद्ध प्रावधान उल्लंघन गरेको ठहर गर्दै शर्मालाई एफसीपीएले दोषी ठहर गरेको हो । यसबारे एफसीपीएले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

वायुसेवा निगमको दुई थान ‘ए३३०–२००’ सिरिजका वाइड बडी जहाज खरिद–बिक्री प्रक्रियामा शर्मा ‘एजेन्ट’ का रूपमा देखिएका थिए ।

निगमलाई अमेरिकी कम्पनी एएआर कर्पोरेसनले दुई थान वाइड बडी जहाज बिक्री गरेको थियो । त्यसका लागि निगमले २४ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो ।

एएआर जहाज खरिद–बिक्री, भाडामा दिने अमेरिकी कम्पनी हो । निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसको जहाज खरिद गरे पनि लिजिङ कम्पनी एएआरमार्फत खरिद गरेको थियो ।

सोही एएआरको प्रतिनिधिका रूपमा शर्माले वायुसेवा निगमसँग जहाज खरिद–बिक्रीको मध्यस्थता गरेका थिए । शर्मा एएआर अन्तर्गतको इन्टिग्रेटेड सोलुसन्सका पूर्वअध्यक्ष पनि हुन् । अहिले उनी एयरक्राफ्ट फाइनान्स जर्मनीमा कार्यरत छन् ।

एएआरको हालै प्रकाशित वार्षिक प्रतिवेदनमा वायुसेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा घुस लेनदेन भएको एफसीपीएको अनुसन्धान खुलासा भएको थियो

‘शर्मा र उनको टोलीले नेपाल वायुसेवा निगमलाई जहाज बेच्न नेपाली तथा विदेशी सरकारी अधिकारीहरूलाई घुस खुवाएको र तीमध्ये वायुसेवा निगममा सन् २०१५ देखि २०१९ सम्म उच्च तहमा बसेका एक अधिकारी पनि थिए,’ एफसीपीएले अनुसन्धान प्रतिवेदनमा भनेको छ, ‘जसबाट दुई थान ए३३०–२०० जहाज बेच्ने टेन्डर जित्न मद्दत पुगेको थियो ।’

नेपाली सरकारी अधिकारीहरूलाई घुस खुवाउन शर्मा र उनको टोलीले अमेरिका, आयरल्यान्ड, युनाइटेड अरब इमिरेट्स (यूएई) लगायत देशमा बैंक खाता खोलेको प्रतिवेदनमा छ ।

विभिन्न देशमा बैंक खाता खोली निगमले पठाएको रकम स्थानान्तरण गरी करिब २५ लाख अमेरिकी डलर बराबर रकम नेपाली सरकारी अधिकारीहरू र विदेशी सरकारी अधिकारीहरूलाई घुस खुवाउन शर्माले मध्यस्थता गरेको एफसीपीएले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0