१९ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गढीमाई मेलामा हुने पशुबलीका सन्दर्भमा सर्वोच्च अदालतको २० साउन २०७३ को आदेश स्मरण गर्न सरोकारवालासँग आह्वान गरेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै परम्परा र प्रथामा हुने कतिपय क्रियाकलापका विषयमा प्रश्न उठ्ने गरेको सन्दर्भमा सर्वोच्चले दिएको आदेशको पालना गर्न मन्त्रालयले सचेत गराएको हो ।

अदालतले पशुबली दिने दिलाउने कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा वा सहयोग पुग्ने गरी सरकारको तर्फबाट कुनै कार्य नगरी त्यस्तो कामलाई निरुत्साहित गर्न परमादेश जारी गरेको थियो ।

साथै गढीमाई मेलाका क्रममा हुने वातावरणीय प्रदूषण नियन्त्रण गरी स्वस्थ र स्वच्छ वातावरण कायम राख्न बली दिइएका पशुपन्छीको मासु लगायत पदार्थको उचित व्यवस्थापन गर्न समेत सर्वोच्चले आदेश दिएको थियो ।

साथै मासुको गुणस्तर निर्धारण, परीक्षण र नियन्त्रण गर्न, गढीमाई मन्दिर र आसपासको क्षेत्रमा स्वच्छ वातावरण कायम राख्न तथा बली दिइएका पशुको रगत, मासु, छाला लगायत अन्य कारणबाट स्थानीय जनस्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन आवश्यक प्रबन्ध मिलाउन समेत आदेश दिएको थियो ।

पर्यटन मन्त्रालयले सर्वोच्चको सोही आदेश अनुसार मेला आयोजना गर्न समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0