२३ मंसिर, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएपछि नेकपा (माओवादी केन्द्र) का नेता दीपेश पुनकी श्रीमती सविना आले मगर विगत तीन महिनादेखि फरार छिन् ।

आले मगरविरुद्ध २ भदौमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले दोस्रो लटमा आलेमगरविरुद्ध पक्राउ पुर्जी जारी भएको बतायो । त्यसयता उनी अहिलेसम्म पक्राउ परेकी छैनन् ।

स्वर्णलक्ष्मी सहकारी ठगीबारे प्रहरी वृत्त कालिमाटीमा उजुरी गरेको थियो । त्यसपछि प्रहरी वृत्त कालिमाटीकै अनुरोधमा सञ्चालकसहितका व्यक्तिहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

त्यतिबेला भने आलेमगरविरुद्ध पक्राउ पुर्जी जारी भएको थिएन । त्यसपछिको यो सहकारीको विस्तृत अनुसन्धान गर्ने भन्दै फाइल जिल्ला प्रहरी परिसर काठमाडौं ल्याएर अनुसन्धान सुरु गरिएको थियो । सो क्रममा आलेमगरका साथै सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालसहित व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । आलेमगर स्वर्णलक्ष्मी सहकारीको लेखा समिति सदस्य हुन् ।

त्यसपछि तेस्रो लटमा २ मंसिरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारीमा तीन लटमा गरेर २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

स्वर्णलक्ष्मी सहकारीले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।

यता अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुन यसअघि सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । उनीविरुद्ध वुटवलको सुप्रिम सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएको थियो । त्यतिबेला उनी धरौटीमा रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0