२८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवौं नानहाई बुद्धिज्म राउन्डटेबलको शुक्रबार बिहान काठमाडौंमा उद्घाटन गर्ने क्रममा नेपाल–चीन सम्बन्धलाई बुद्ध धर्मको धागोले जोडेको प्रसंग उप्काए ।

२० देशका भिक्षु सहभागी यो बौद्ध सम्मेलनमा प्रमुख अतिथि बनेर आएका प्रधानमन्त्री ओलीले दुई देशलाई सीमाले मात्रै नजोड्ने, बरु हिमालहरूको भव्य अँगालो, नदीहरूको प्रवाह र संस्कृतिको बन्धनले जोडेको चर्चा गरे । चिनियाँ भिक्षुहरूको बाहुल्य रहेको सम्मेलनमा ओलीले इतिहासदेखि नै नेपाल र चीनबीचको असल मैत्रीलाई बौद्ध सम्मेलनले अझै सघन बनाउने विश्वास राखे ।

एसियाका ज्योति मानिने गौतम बुद्धका पाइलाले धन्य बनेको नेपाली भूमिमा चीनका प्रसिद्ध दुई पात्रको आगमनले इतिहासदेखिकै सम्बन्ध गाढा बनेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

ओलीले सम्मानपूर्वक नाम लिएका ती दुई चिनियाँ भिक्षुहरू हुन् फा सियान र ह्वेन साङ (जुआन जाङ) ।

करिब १६ सय वर्षअघि फा सियान नामक चिनियाँ भिक्षु नेपाल आएका थिए । करिब त्यही समयमा अर्का नेपाली भिक्षु बुद्धभद्र शाक्य चीन गएको इतिहासमा भेटिन्छ । बुद्धभद्रलाई चीनमा च्वे स्यान भनेर बोलाउने गरिन्छ । गौतम बुद्धका काका अमृतोदनका वंशज मानिने बुद्धभद्रले चीनका मुख्य प्रान्तहरुमा बौद्ध धर्मका शिक्षा फैलाउन योगदान गरेको इतिहासमा भेटिन्छ ।

कपिलवस्तुमा जन्मेका, अनि अफगानिस्तानमा हुर्केका, त्यसपछि कस्मिरमा आएर बौद्ध शिक्षा पढाएका बुद्धभद्रलाई पाँच चिनियाँ भिक्षुले आग्रह गरेर चीनको सियान प्रान्तमा पुर्‍याएका थिए । विसं ४८६ मा उनी ७१ वर्षको उमेरमा बितेको बताइन्छ ।

रोचक के छ भने बुद्धभद्रले चिनियाँ भाषा सिकेका थिए भने फा सियानले चाहिँ संस्कृत । उनीहरू दुवैको भेट कस्मिरमै भएको दस्तावेजहरूमा उल्लेख छ ।

त्यस्तै अर्का पात्र ह्वेन साङ चाहिँ वि.सं ६९८ को आसपासमा नेपाल आएको भेटिन्छ । भारतका हर्षबर्द्धन राजाको दरबारमा ६ महिनासम्म बसेर आएका ह्वेन साङले त्यस बेला लुम्बिनी,कपिलवस्तुतिर घुमेको भेटिन्छ ।

प्रधानमन्त्री ओलीले चीनसँग नेपालको यो सम्बन्ध बौद्ध धर्मको आलोकमा अघि बढिरहेको र शान्ति, करुणा र सहयोगका जीवनमूल्यहरूको वकालत गर्दै अघि बढेको चर्चा गरे ।

प्रधानमन्त्री ओलीले चीनमा नेपाली शैलीका गुम्बा, स्तुपहरु बन्नु, अनेक वास्तुकलाहरू भेटिनु, अनि लुम्बिनीमा बनेको चिनियाँ मठको भव्यताले दुई देशको सम्बन्धलाई निकै माथि पुर्‍याएको चर्चा गरे ।

प्रधानमन्त्रीले चीनको नानहाई बौद्ध एकेडेमी र लुम्बिनी बौद्ध विश्वविद्यालयबीचको सहकार्यले ज्ञानको नयाँ प्रकाशस्तम्भ बन्ने र भविष्यसम्म साझेदारी चलिरहने अपेक्षा पनि राखे ।

नेपालस्थित चिनिया राजदूत चेन सोङले सम्मेलन सफलताको शुभकामना दिए । भिक्षुहरू भोलि शनिबार लुम्बिनीमा पूजापाठमा सामेल हुनेछन् ।

शुक्रबारदेखि सुरु हुने नानहाई बुद्धिज्म राउन्डटेबलमा भाग लिन चीन, थाइल्यान्ड, लाओस्, श्रीलंका, कम्बोडिया, भियतनाम, म्यानमार, बंगलादेश, मंगोलियासहित २० देशका धर्मगुरु, प्रतिनिधि काठमाडौं र लुम्बिनी आइसकेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको हाइनान प्रान्तीय युनाइटेड फ्रन्ट वर्क विभागका उपमन्त्री वाङ यु चोङ नेतृत्वको भ्रमणमण्डल पनि सहभागी छ । चिनियाँ उपमन्त्री वाङ हाइनान प्रान्तीय सरकारको धार्मिक मामिला ब्यूरो निर्देशक पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0