११ पुस, काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग गर्दै सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गर्दै केही निर्देशनात्मक आदेश दिएको हो । आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।

सर्लाही–४ का स्वतन्त्र सांसद अमेरेश कुमार सिंहले रेनोल्ड होल्डिङस्को शेयर खरिदबिक्री रोकिनुपर्ने माग राखेर रिट निवेदन दर्ता गरेका थिए ।

मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङको सबै सेयर बेलायतमा स्थापना भएको स्पेक्ट्रलाईट यु.के.लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो । शेयर खरिदबिक्रीको निर्णय सर्वाजनिक भएलगत्तै विभिन्न तहबाट प्रश्न उठेको छ ।

पुँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविकभन्दा कम मूल्यमा शेयर विक्री गर्न खोजिएको भनी रिट निवेदन दर्ता भएको थियो । आजिआटाले टेलिकम क्षेत्रका व्यवसायी सतीशलाल आचार्यलाई ५५ मिलियन अमेरिकी डलर(करिव ६ अर्ब ६५ करोड रुपैयाँमा शेयर बिक्रीको घोषणा गरेको थियो ।

सन् २०१६ मा एक खर्ब ४३ अर्ब रुपैंयामा आजियाटाले एन्सेलको ८० प्रतिशत खेयर किनेको थियो । सात वर्षमा नै ठूलो रकम गिरावटका साथ शेयर खरिदबिक्री भएको भन्दै सांसदले सिंहले प्रश्न उठाएका थिए ।

एनसेलले वार्षिक करिव ४० अर्ब रुपैयाँ आम्दानी गरेको अवस्थामा कौडीको भाउमा सेयर बिक्री गरिनु गलत भएको उनको दावी थियो । एन्सेलले नेपालीका तीन ठूला बैंकहरूबाट ४० अर्ब ऋण लिएको अवस्थामा ६ अर्बमा मात्रै कम्पनीको ८० प्रतिशत शेयर बिक्री हुन नसक्ने उनले जिकिर गरेका थिए ।

उनले एनसेलको शेयर खरिदबिक्री गरी नामसारी गर्ने काम नगर्न नगराउन माग गरेका थिए । उनले रिट निवेदनमा एन्सेल, नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री कार्यालय, आन्तरिक राजस्व कार्यालयलाई पनि विपक्षी बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0