११ पुस, काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणलाई कम्पनीहरुको प्रभावकारी नियमन गर्न र एनसेल आजियाटा लिमिटेडलाई अनुमतिपत्रका शर्त अक्षरशः पालना गर्न निर्देशनात्मक आदेश दिएको छ ।
एनसेलको ८० प्रतिशत शेयर हिस्सा रहेको मलेसियाको आजिआटा ग्रूप र स्पेक्ट्रलाइट युके लिमिटेडबीचको शेयर खरिद-बिक्री रद्द गर्न सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।
सेयर खरिद बिक्रीलाई यसअघि नै दूरसञ्चार प्राधिकरणले मान्यता नदिएको भन्दै सांसद सिंहले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको छ । तर, सँगसँगै सरकार र एनसेल आजियाटा लिमिटेडका नाममा निर्देशनात्मक आदेश पनि दिएको छ ।
सर्वोच्च अदालतमा सिंहको रिट निवेदन दर्ता भएको केही महिनापछि नेपाल दुरसञ्चार प्राधिकरणले शेयर खरिदबिक्रीको अनुमति दिन नसकिने भनी निर्णय गरेको थियो । १५ चैत २०८० मा प्राधिकरणले निर्णय गरिसकेको देखिएको भन्दै सर्वोच्च अदालतले सांसद सिंहको रिट निवेदन खारेज गरेको हो ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले शेयर खरिदविक्रीका क्रममा आजिआटाले दुरसञ्चार प्राधिकरणबाट अनुमति लिएको नदेखिएको भन्दै शर्तहरू पालना गर्न निर्देशनात्मक आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले विहीबार सार्वजनिक गरेको निर्देशनात्मक आदेशमा भनिएको छ, ‘दुर सञ्चार ऐन, नियमावली अनि नेपाल दुर सञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली र अनुमतिपत्रको शर्तसमेत अक्षरशः परिपालना गर्दै पारदर्शी र विधिसम्मत तरिकाले सेवा संचालन गर्नू भनी विपक्षी एनसेल आजियाटा लिमिटेडको नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ ।’
दूरसञ्चार प्राधिकरणलाई टेलिकम कम्पनीहरूको नियमनको अधिकार छ । शर्तको पालना नगर्नेहरूलाई उसले जरिवानासम्म गर्न पाउँछ । तर आजिआटाले शर्तको पालना गरेको नदेखिएको, शेयर खरिदबिक्री गर्नुपूर्व स्विकृति लिएको देखिएको भन्दै सर्वोच्चले दूरसञ्चार प्राधिकरणको कामकारबाहीमाथि पनि प्रश्न उठाएको हो ।
‘अनुमतिपत्र प्राप्त एनसेल लगायतका सबैको कानुन बमोजिम प्रभावकारी नियमन गर्नू, गराउनू भनी दुरसञ्चार प्राधिकरणको नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ ।
विवाद के थियो ?
मलेसियाको आजिआटा ग्रूप बर्हाडसँग एनसेलमा ८० प्रतिशत शेयर हिस्सा थियो । सेन्ट किट्स एन्ड नेभिसमा दर्ता रहेको रेनोल्ड होल्डिङ्स नामक कम्पनीमार्फत उसले नेपालमा एनसेलको सेयर स्वामित्व कायम गरेको थियो । रेनोल्ड होल्डिङ्सको सम्पूर्ण सेयर आजियाटाको पूर्ण स्वामित्वको आजियाटा इन्भेष्टमेन्ट (युके) सँग थियो । आजियाटा युकेले रेनोल्ड होल्डिङ्सको सम्पूर्ण सेयर बेलायतमै स्थापना भएको स्पेक्ट्रलाईट यु.के.लिमिटेडलाई बेच्नेसम्बन्धी सम्झौता १ डिसेम्बर २०२३ मा भएको थियो । स्पेक्ट्रलाइट युकेको सम्पूर्ण स्वामित्व सिंगापुरमा बस्ने नेपाली व्यवसायी सतिशलाल आचार्यसँग छ ।
शेयर खरिदबिक्रीको निर्णय सार्वजनिक भएलगत्तै पुँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविकभन्दा कम मूल्यमा शेयर विक्री गर्न खोजिएको भनी सिंहले रिट निवेदन दर्ता भएको थियो । आजिआटाले टेलिकम क्षेत्रका व्यवसायी सतीशलाल आचार्यलाई ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ७५ करोड रुपैयाँ) मा शेयर बिक्रीको घोषणा गरेको थियो ।
सन् २०१६ मा एक खर्ब ४३ अर्ब रुपैयाँमा आजियाटाले एन्सेलको ८० प्रतिशत खेयर किनेको थियो ।
सात वर्षमा नै ठूलो रकम गिरावटका साथ शेयर खरिदबिक्री भएको भन्दै सांसदले सिंहले प्रश्न उठाएका थिए । तर, एनसेलले भने आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात् सन् २०२९ सम्म लाभांश बाँडफाँटमार्फत लाभ पाउने भएकाले शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर बताएको थियो ।
एनसेलले वार्षिक करिब ४० अर्ब रुपैंया आम्दानी गरेको अवस्थामा अत्यन्तै कम मूल्यमा शेयर बिक्री गरिनु गलत भएको सिंहको दाबी थियो ।
एनसेलले नेपालीका तीन ठूला बैंकहरूबाट ४० अर्ब ऋण लिएको अवस्थामा ६ अर्बमा मात्रै कम्पनीको ८० प्रतिशत शेयर बिक्री हुन नसक्ने उनले जिकिर गरेका थिए । उनले एन्सेलको शेयर खरिदबिक्री गरी नामसारी गर्ने काम नगर्न नगराउन माग गरेका थिए ।
त्यही बेला सरकारले पूर्वमहालेखा परिक्षक टंकमणि शर्माको नेतृत्वमा एनसेलको शेयर खरिदबिक्रीको निर्णयबारे अध्ययन गर्न समिति गठन गरेको थियो । समितिको प्रतिवेदनपछि नेपाल दुरसञ्चार प्राधिकरणले शेयर खरिदविक्रीको अनुमति दिन नसकिने निर्णय गरेको थियो ।
सांसद अमरेश कुमार सिंहले रिट निवेदनमा माग गरेको विषय दुरसञ्चार प्राधिकरणको निर्णयबाट नै सम्बोधन भएपछि सर्वोच्च अदालतले रिट निवेदन खारेज गरेको हो । फैसलाको पूर्णपाठ तयार हुन बाँकी छ ।