११ पुस, काठमाडौं। देशभरका स्थानीय तहको अधिकांश वेबसाइटमा समस्या आएको छ ।
काठमाडौं महानगरपालिकासहित केही पालिकाको वेबसाइट चलेपनि अधिकांश वेबसाइटमा समस्या आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालि प्रसाद पराजुलीले जानकारी दिए ।
उनका अनुसार प्राविधिक कारण देखाउँदै स्थानीय तहका वेबसाइट नचलेको हो । ‘यस वेबसाइटको मर्मत कार्य जारी छ। हामी एकछिन पछि फर्कने छौं,’ गाउँपालिकाहरुको वेबसाइटमा यस्तो भनिएको छ ।
यता, नगरपालिका र उपमहानगर तथा महानगरको वेबसाइटमा कुनै सूचनाबिनै डाउन छ।
‘के कारणले साइट नचलेको हो भनेर प्राविधिक चेक जाँच भइरहेको छ।छिट्टै समस्या समाधान गर्न मन्त्रालयको प्राविधिक टोली खटिरहेको छ।’ संघीय मामिलाका प्रवक्ता पराजुलीले अनलाइनखबरसँग भने।
केही पालिकाको आजबाट नचलेको भने केहीको हिजैदेखि वेबसाइट डाउन छ। वेबसाइट नचल्दा स्थानीय तहहरुले प्रकाशित गर्ने सूचना, जानकारीसहित विभिन्न प्रशासनिक र सामाजिक सुरक्षाको सेवाहरुसमेत असर परेको छ ।
पछिल्लो समयमा स्थानीय तहको वेबसाइटहरुमा लगातार समस्या आइरहेको छ।