१४ पुस, काठमाडौं । त्रिचुन्द्र बहुमुखी क्याम्पसमा आंशिक शिक्षकले क्याम्पस प्रमुख, लेखा र प्रशासनको कोठामा ताला लगाएका छन् ।
१८ महिनादेखि तलब नपाएको भन्दै ताला लगाएको त्रिवि आंशिक प्राध्यापक संघ, त्रिचन्द्र क्याम्पस इकाइका अध्यक्ष सतीशचन्द्र झाले बताए ।
‘पारिश्रमिक पाएका छैनौं । सहमतिअनुसार तलब नपाएपछि ताला लगाएका हौँ,’ उनले भने । १ पुसमा ताला लगाएका आंशिक शिक्षकले कक्षा पनि बहिस्कार गरेका छन् ।
‘ताला लगाएपछि पढाएका छैनौं । विद्यार्थीलाई अफ्ठ्यारो परेको छ । तर, तलब नपाइ कसरी हामीले काम गर्न सक्छौं ?,’ उनले प्रश्न गरे ।
गत भदौमा २०८० सम्मको सबै तलब दसैंअगाडि र २०८१ वैशाखदेखिको तलब मंसिरसम्म भुक्तानी गर्ने सम्झौता भए पनि कार्यान्वयन नभएको गुनासो आंशिक प्राध्यपाकहरूको छ ।
दसैंअगाडि केही विभागको भुक्तानी भएको थियो । अरुको अहिलेसम्म पनि भुक्तानी नभएपछि बाध्य भएर ताला लगाउनु परेको झाले बताए । ‘३० मंसिरभित्र तलब भुक्तानी गर्न समय दिएपनि सुनुवाइ भएन,’ उनले भने ।
शैक्षिकसत्र २००१/०८२ को नविकरण गर्नुपर्ने, करारको प्रक्रिया पूरा गर्नुपने, पारिश्रमिकबाट कट्टा गरिएको १५ प्रतिशत कर प्राध्यापकहरुको व्यक्तिगत प्यानमा सुनिश्चित गर्नुपर्ने लगायतका माग आंशिक शिक्षकहरूको छ ।
आंशिक शिक्षकले ताला लगाउँदा दैनिक कामकाज प्रभावित भएको छ भने विद्यार्थीको पठनपाठनसमेत रोकिएको छ । आंशिक शिक्षकको कक्षाबाहेक अरु कक्षा भने चलिरहेको छ ।