काठमाडौं । जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको सडक दुर्घटनामा मृत्यु भएपछि बाजुरकाको बडीमालिका नगरपालिकाले एक दिन शोक बिदा दिएको छ । नगरपालिका अन्तर्गतका कार्यालय तथा संघसंस्थामा मौनधारणसहित शोक मनाउन पुस १६ गते (मंगलबार) शोक बिदा दिने नगरपालिकाले जनाएको छ ।

बडीमालिका–७ स्थित चुथी स्वास्थ्य चौकीमा कार्यरत खत्रीको केही दिनअघि धनगढीमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । उनी त्यहाँ आयोजना भएको तालिममा सहभागी हुने क्रममा दुर्घटनामा परेका थिए ।

प्रहरीका अनुसार बिहीबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढी आउँदै गरेका दुईवटा मोटरसाइल आपसमा ठोक्किएका थिए ।

डोटीको शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापाले चलाएको सुप्रप ०१-००७११ प नम्बरको मोटरसाइलले पछाडिबाट ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–५ का २५ वर्षीय पुरन शाहले चलाएको सुपप्र ०१२ प ९४१६ नम्बरको मोटरसाइलमा खत्री पछाडि सवार थिए ।

खत्रीको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा बिहीबार साँझ मृत्यु भएको थियो ।

‘कुशल, कर्तव्यनिष्ट, होनहार राष्ट्रसेवक स्वास्थ्यकर्मी गुमाउँदा बडीमालिका नगरपालिकालाई अपूरणीय क्षति भएको छ,’ नगरपालिकाले सूचना जारी गर्दै भनेको छ, ‘दुःखद् घडीमा सिंगो नगरपालिका परिवार स्वर्गीय खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार, आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0