मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र माछामासु र मदिराको उत्पादन, बिक्रीवितरण र उपभोग निषेधसम्बन्धी धार्मिक मान्यता र कानुनी प्रावधान कडाइका साथ पालना हुनुपर्ने बताएका छन्।
मुख्यमन्त्री सिंहले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक परम्परा, गरिमा र प्रतिष्ठा अक्षुण्ण राख्न स्वतःस्फुर्त ढंगले माछामासु र मदिराको उत्पादन, बिक्रीवितरण र उपभोग नगर्न जनकपुरवासीलाई आह्वान गरे। ‘कुनै पनि पीठ क्षेत्रका बासिन्दामा उच्च आध्यात्मिक मूल्य र चेतना रहन्छ। जसको अभिव्यक्ति नै तिनको शुद्धता तथा पवित्रतामा आधारित जीवनशैलीबाट हुन्छ। त्यसैले जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार गर्न हुँदैन,’ मुख्यमन्त्री सिंहले मंगलबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग भने।
उनले जनकपुरधामको परिक्रमा सडक भित्रका ठाउँ धार्मिक तथा सांस्कृतिक अनुष्ठानको गौरवपूर्ण अतीत तथा वर्तमान उधिनेको बताउँदै त्यस क्षेत्रमा माछामासु र मदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँगै अन्य सरोकारवालासँग समन्वय गरिरहेको जानकारी दिए।
मुख्यमन्त्री सिंहले सनातन परम्परामा अन्तर्निहित आशय, सरकारको निर्णय, अदालतको आदेश र सरोकारवालाहरूको आग्रहका बाबजुद परिक्रमा सडकभित्र माछामासु र मदिरा निषेध नहुँदा धार्मिक समुदायमा नकारात्मक धारणा बन्न लागेको जोखिम औंल्याउँदै जनकपुरधामको अर्थतन्त्रको आधार धार्मिक पर्यटन जोगाउन पनि माछामासु र मदिरा निषेधको व्यवहार अपनाउन जनकपुरधामवासीले चासो लिनुपर्ने बताए।
‘जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन तथा बिक्रीवितरण गर्न सरकारी निकायले अझै इजाजत दिँदैनन्। तर, इजाजतबिना नै मांसमदिराको किनबेच र उपभोग भइरहेको छ। यो दुर्भाग्यपूर्ण छ,’ मुख्यमन्त्री सिंहले भने, ‘कुनै पनि समाजका परम्परा र कानुनको पालना गर्ने दायित्व अमुक समुदायको हुन्छ। त्यसैले परिक्रमा सडकभित्र मांसमदिरा निषेध कार्यान्वयनमा स्थानीयको अग्रसरता जरुरी छ।’
जनकपुरधाममा हुने विवाहपञ्चमी महोत्सव, छठलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक पर्व, मेला आदिका बेला स्थानीय प्रशासनले परिक्रमा सडकभित्र पशुपक्षीको काटमार, मासु तथा मासुजन्य पदार्थको बेचबिखन र उपभोग निषेध गरेको सूचना जारी गर्ने गर्छ। त्यस आधारमा केही दिनका लागि माछामासु र मदिरा निषेधित भए पनि अन्य दिन परिक्रमा सडकभित्र माछामासु र मदिराको बेचबिखन तथा उपभोग भइरहन्छ।
परिक्रमा सडकभित्र सधैंका लागि माछामासु र मदिरा निषेध गर्न साधुसन्त, धार्मिक तथा सामाजिक अभियन्ताहरूले समयसमयमा आन्दोलन गरिरहेका हुन्छन्। केही समयअघि जनकपुरधाम उपमहानगरपालिका कार्यालयले परिक्रमा सडकभित्र माछामासु र मदिराको बेचबिखन नगर्न सूचना जारी गरे पनि स्थानीय व्यवसायीले पूर्ववत् माछामासु र मदिरा बिक्रीवितरण गरिरहेका छन्।
उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहको पहलमा भने परिक्रमा सडकभित्र कुखुरालगायत पशुपक्षीको काटमार अहिले रोकिएको छ। यस्तै अन्य पशुपक्षीको काटमार परिक्रमा सडक बाहिरै हुने गरेकाले मासुमाछाको बजार जनकपुरधाममा परिक्रमा सडक बाहिर नै राखिएका छन्।