कैयन् वर्षको पर्खाइपछि अन्ततः एन्ड्रोइड फोनमा समेत अत्याधुनिक वायरलेस चार्जिङ प्रविधि उपलब्ध हुने भएको छ । वायरलेस पावर कन्सोर्टियमका अनुसार एन्ड्रोइड फोनमा निकट भविष्यमै Qi2 वायरलेस प्रविधिको सुरुवात हुन लागेको पुष्टि गरेको छ । यो मामिलामा सामसुंग तथा गुगल सबैभन्दा अगाडि छन् ।
कन्जुमर इलेक्ट्रोनिक शो २०२५ मा गरिएको उक्त घोषणाले एप्पलमा जस्तै एन्ड्रोइड फोनमा पनि वायरलेस चार्जिङ प्रविधिको प्रतिक्षा गरिरहेका प्रयोगकर्ताहरुमा उत्साह बढाइदिएको छ ।
Qi2: वायरलेस चार्जिङको क्षेत्रमा ठूलो कदम
वास्तवमा Qi2 वायरलेस चार्जिङमा एउटा ठूलो सुधार हो जसले पुरानो Qi मानकलाई परिवर्तन गर्नेछ । यो प्रविधिले तीव्र तथा अधिक कुशल चार्जिङ उपलब्ध गराउनेछ, जसमा चार्जिङ स्पीड १५ वाटसम्म हुनसक्नेछ ।
Qi2 प्रविधिले चुम्बकीय रिंग्सको प्रयोग गर्दछ, जुन डिभाइससँग सही तरिकाले एकीकृत हुन्छ । उक्त डिजाइनले उर्जाको क्षति कम गर्दछ, जसबाट चार्जिङ प्रक्रिया अधिक विश्वसनीय तथा कुशल बन्दछ ।
एप्पलले MagSafe 2023 बाट यस्तै वायरलेस चार्जिङ प्रविधि उपलब्ध गराइरहेको अवस्थामा यो क्षेत्रमा एन्ड्रोइड भने पछि रहँदै आएको छ । तर Qi2 आएसँगै यसको अभाव पूर्ति हुनेछ ।
सामसुङ र गुगलको ठूलो योगदान
गुगल र सामसुङले आधिकारिक रुपमा क्यू आइ टू मानक अबलम्बन गर्ने पुष्टि गरेका छन् । यो वर्षको अन्त्य सम्ममा ग्यालेक्सी फोनमा उक्त वायरलेस चार्जिङ प्रविधि उपलब्ध गराइने सामसुङले जनाएको छ । यद्यपि यसै महिला लञ्च हुने ग्यालेक्सी एस २५ सिरिजका स्मार्टफोनमा यस्तो वायरलेस चार्जिङ प्रविधि हुने नहुने भन्ने कुरा प्रष्ट भएको छैन । कतिपयले Qi2 को पूर्ण एकीकरण ग्यालेक्सी एस२६ मा मात्रै हुने बताएका छन् ।
एप्पलको म्यागसेफसँग प्रतिस्पर्धा
वर्षौँदेखि एप्पल प्रयोगकर्ताले म्यागसेफको माध्यमबाट उत्कृष्ट चार्जिङको अनुभव लिन पाएका छन् । एन्ड्रोइड फोनले वायरलेस चार्जिङ सपोर्ट गरेपनि यो कम विश्वसनीय तथा सुस्त छ । तर क्यू आई टू को आगमनसँगै यो स्थिति बदलिन सक्दछ । म्याग्नेटिक अलाइनमेन्ट सिस्टम अबलम्बन गरेर एन्ड्रोइड डिभाइसले उत्कृष्ट पर्फमेन्स तथा तीव्र गतिको चार्जिङ प्रदान गर्नेछ र एप्पलको प्रविधिसँग बराबरीमा पुग्नेछ ।