नेपालको हिमाली भेगमा ज्यानको बाजी लगाएर यार्सागुम्बा टिप्न जानेको लर्को लागेको त हामीले सुनेकै, देखेकै छौं । यार्सागुम्बा नेपालबाट लाखौंको भाउमा विदेशी मुलुकमा बिक्री गरिन्छ ।

यसबाट बुझ्न सकिन्छ, यार्सागुम्बा बहुमूल्य छ । यो स्वास्थ्यबर्द्धक, शक्तिबर्द्धक र रोगप्रतिरोधी क्षमताले भरिपूर्ण हुन्छ । शरीरमा लाग्नसक्ने कैयौं रोगलाई यार्सागुम्बाको सही प्रयोगले निको पार्न सकिन्छ । यो आयुर्वेदमा मात्र नभई एलोप्याथिक औषधिमा पनि प्रयोग भएको पाइन्छ ।

यार्सागुम्बा वनस्पति हो कि कीरा ?

यार्सागुम्बा झुसिलकीरा र ढुसीको संयोजनबाट बनेको हुन्छ । गर्मीयाममा झार जस्तै हुन्छ, हिउँदमा कीराको रूपमा रहन्छ । झुसिलकीरामा च्याउ प्रजातिको ढुसी आएको हुन्छ । यही ढुसी बढेपछि यसलाई यार्सागुम्बा भनिन्छ । त्यसैले यसलाई वनस्पति र जीवको समिश्रण पनि भन्ने गरिन्छ ।

यार्सागुम्बा हिमाली भाषाले दिएको नाम हो । यार्साको अर्थ वनस्पति र गुम्बुको अर्थ कीरा हो । कतिपयले यसलाई सञ्जीवनी बुटीको दोस्रो रुप पनि भनिन्छ । कतिपयले यसलाई यौन उत्तेजक हिमाली भिएग्राको नाम समेत दिएका छन् । यार्सागुम्बाको वैज्ञानिक नाम भने ‘कार्डिसिभ साइनिसस’ हो ।

के कस्ता तत्व पाइन्छ ?

यार्सागुम्बामा कोर्डिसेपिन लगायत अन्य न्युक्लेओसाइड, कोर्डिसेपिक एसिड, एमिनो एसिड, फ्याटी एसिड, पोलिसाक्काराइड, भिटामिन बी १२, बी, बी १, कार्बोहाइड्रेट, ग्लुकोज, प्रोटिन, स्टेरोल, मेलानिन जस्ता रासायनिक पदार्थ पाइन्छ ।

यसमा पाइने केही रसायनिक तत्वहरू क्यान्सर र ट्युमर उपचारमा पनि उपयोगी देखिएको पछिल्ला वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन् ।

कसरी जडिबुटीको रूपमा तयार हुन्छ ?

झुसिलकीराको रूपमा जमिनमुनि बसेको अवस्थामा ओफिकोर्डेसिप्स साइनेन्सिस जातका ढुसीका बीजाणुले संक्रमण गर्छन् । लार्भाको शरीरभित्र सो बीजाणु प्रवेश गरिसकेपछि त्यो ढुसीको बीजाणु रेसारूपी कोष (धागो जस्तो) मा परिणत भएर लार्भाको शरीरभरि फैलिन थाल्छ ।

उक्त माइसेलियमले लार्भाको शरीरबाट खाना सोसेर त्यसलाई खोक्रो बनाउँदै लैजान्छ र आफ्नो शरीर लार्भाको शरीरभित्र फैलाउँदै जान्छ । अन्त्यमा, लार्भाको टाउकोमा आक्रमण गरेपछि मर्छ । मरेको लार्भाको टाउकोबाट ढुसीको डाँठ जस्तो भाग पलाउँछ, जुन औसतमा दुईदेखि चार इन्चसम्म लामो, खैरो रङको हुन्छ । वसन्त ऋतुमा हिउँ पग्लिन थालेपछि पलाउने यस्ता डाँठ मानिसले संकलन गर्छन् ।

संकलन गर्दा कुटोले खनेर वा औंलाले कीरासहितको भाग जमिनबाट निकालिन्छ । अनि सरसफाइपछि केही समय शीतलमा सुकाएर यसलाई औषधिको रूपमा तयार गर्न सकिन्छ ।

कुन क्षेत्रमा पाइन्छ ?

समुन्द्री सतहबाट तीन हजार ६०० मिटरदेखि पाँच हजार मिटरसम्म वा सो भन्दा माथिको उचाइसम्म पाइन्छ । विश्वभर १०० प्रजातिका यार्सागुम्बा पाइन्छन् भने चीनमा मात्रै २१, भारतमा ७ र नेपालमा २ प्रजातिका यार्सागुम्बा पाइन्छन् ।

नेपालका ताप्लेजुङ, संखुवासभा, गोरखा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा लगायतका जिल्लामा यार्सागुम्बा पाइन्छ ।

जुन नेपालबाट कोरिया, ताइवान, हङकङ, म्यानमार, थाइल्याण्ड, सिंगापुर, जापान, बेलायत र अमेरिकामा निर्यात हुन्छ ।

कसरी खोज भयो ?

यार्सागुम्बाको अस्तित्व पौराणिककालदेखि नै नेपालमा रहँदै आएको पाइन्छ । यसको उपयोग हिमाली भेगका शेर्पाहरूले गर्दै आएका थिए । विभिन्न जडिबुटीका रूपमा प्रयोग भइरहेको यार्चागुम्बा पहिलो पटक खोजी गरेर प्रकाशमा ल्याइएको भने त्यति धेरै भएको छैन ।

यार्सागुम्बा पहिलो पटक संकलन गर्ने श्रेय सन् १९५२ मा ब्रिटिश म्युजियम लण्डनको तर्फबाट वनस्पति संकलन गर्न आएका पोलुनिन साइकल र विलियमलाई जान्छ । उनीहरूले ४ हजार २०० मिटरको उचाइमा रहेको च्याखुर लेकबाट अत्यन्तै मूल्यवान यार्सागुम्बा भेट्टाएर लगेका थिए ।

तिब्बतमा पनि सयौं वर्षदेखि औषधिको रूपमा यसलाई कुटेर प्रयोग गरिन्थ्यो । चिनियाँ उपचार विधि अन्तर्गत यसको प्रयोग दम, कलेजो, मुटु र मिर्गौला रोगमा गरिंदै आएको छ ।

त्यतिबेला यसको चर्चा सीमित थियो । यार्सागुम्बाको चर्चा फैलिनुमा रोचक किस्सा छ ।

सन् १९९३ मा जर्मनीमा विश्व ट्र्याक एन्ड फिल्ड प्रतियोगितामा तीन चिनियाँ महिला खेलाडीले उपाधि जिते । उनीहरूले एक हजार ५००, ३ हजार र १० हजार मिटरको दौडमा पाँच विश्व रेकर्ड कायम राखे । यस्तो खेलाडीको उत्कृष्ट प्रदर्शनको रहस्य दैनिक अभ्यासका क्रममा यार्सागुम्बा सेवन गर्नु रहेको प्रशिक्षकले खुलासा गरिदिएपछि यसको चर्चा विश्वभर फैलियो । यसको चर्चासँगै यसको मूल्य पनि महंगिएको हो ।

किम्बदन्ती

राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर घाइते हुँदा नेपालको उत्तरी हिमाली भेगबाट हनुमानले सञ्जीवनी बुटी लगी लक्ष्मणलाई खुवाएर ब्युँझाएको किम्बदन्ती छ । सो सञ्जीवनी बुटीलाई अहिलेको यार्सागुम्बासँग तुलना गरिएको पाइन्छ ।

यार्सागुम्बाको प्रयोग

नेपालमा पहिला हिमाली भेगमा स्थानीय रूपमा झाडापखाला, टाउको दुख्ने, हात गोडा दुख्ने उपचारका निम्ति यसलाई प्रयोग गरिन्थ्यो । मौरीको मह र दूधसँग यसलाई मिसाएर खाँदा तागत बढ्ने विश्वास गरिन्छ । साथै, यसको धुलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको कमीलाई पूरा गर्ने विश्वास छ ।

यद्यपि, अहिले यसको प्रयोग क्यान्सरविरुद्ध औषधि, मिर्गौला, वीर्यको गुणस्तर बढाउन, कोलेस्टेरोल, मेटाबोलिजम नियमन, ढाड दुखाइ, रक्त सञ्चार बढाउन, सुन्निएको कम गर्ने र मुटुको औषधिमा प्रयोग हुन्छ । रक्त अल्पता, दीर्घ दम, ट्युमरको बिरामी, बोनम्यारोको समस्यामा पनि औषधिको रूपमा प्रयोग गरिन्छ ।

कतिपय रेडियोथेरापी र किमोथेरापी लिइरहेकाहरुमा पनि यार्सागुम्बा प्रयोग हुन्छ । महिला तथा पुरुषमा बाँझोपनको समस्यामा पनि यो प्रयोग गरिन्छ । वेबएमडीमा उल्लेख गरेअनुसार श्वासप्रश्वासको समस्या, फोक्सोमा संक्रमण, रातमा पटक-पटक पिसाब आउने समस्या, उच्च कोलेस्टेरोल र कान बज्ने समस्यामा प्रयोग हुन्छ ।

हेपाटाइटिस बी भाइरस, औषधिले मिर्गौला क्षति गरेको अवस्थामा पनि यसको प्रयोग हुन्छ । यो मानसिक समस्यामा पनि प्रयोग भएको पाइन्छ । तर मानसिक समस्यामा कतिको प्रयोग हुन्छ ? भन्नेबारे कुनै ठूलो प्रमाण प्राप्त भइसकेको छैन ।

यसको उपयोग यौन शक्तिबर्द्धक औषधिको रूपमा पनि हुन्छ । नियमित यार्सागुम्बाको सेवन पुरुषले गर्ने हो भने पिसाबमा केटास्टोरोइड तत्वको मात्रा बढाउँछ । सो तत्वले पुरुषमा एन्ड्रोजिन र टेस्टोरोन लगायत यौन उत्तेजना बढाउने यौन हर्मोनको उत्पादन बढाउँछ ।

विज्ञहरूको भनाइअनुसार १३ वटा अन्य जडिबुटीसँग यार्सागुम्बा मिसाएर लगातार तीन वर्ष खाइरहे हृष्टपुष्ट, फूर्तिलो र सुन्दर हुन्छ ।

कति मात्रामा खान सकिन्छ ?

यार्सागुम्बा टयाब्लेट र धुलो दुवै प्रकारमा बजारमा उपलब्ध हुन्छ । यार्सागुम्बा पाँच सय एमजीको टयाब्लेट दैनिक दुई पटक दूधमा मिसाएर खान सकिन्छ । त्यस्तै, धुलो भने तीनदेखि ६ ग्राम लिन सकिन्छ ।

नेपालमा मात्र यार्सागुम्बा भएको औषधि व्यवस्था विभागमा दर्ता भएको छैन । यद्यपि, चेवनप्राश जस्ता उत्पादक सामग्रीमा पनि सप्लिमेन्टको रुपमा यार्सागुम्बा मिसाइएको भेटिन्छ ।

साइड–इफेक्ट

यार्सागुम्बा सुरक्षित जडिबुटी तथा औषधि मानिन्छ । यद्यपि, स्तनपान, गर्भावस्थामा, रगतसम्बन्धी समस्या र शल्यक्रिया गरिएको अवस्थामा यार्सागुम्बा खाँदा साइड-इफेक्ट हुनसक्छ । यार्सागुम्बाको सेवन गर्दा कहिलेकाहीं डायरिया, कब्जियत र पेटसम्बन्धी समस्या हुनसक्छ । @onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0