काठमाडौँ । अभिनेत्री वर्षा राउत र ‘साँघुरो’ निर्देशक जोयस पाण्डेको मुख्य भूमिका रहेको फिल्म ‘हिउँको गीत’ छायाङ्कन सकिएको छ । ओहायो राज्यको क्लिभल्याण्ड सहरमा हलिउडका चलचित्र छायाङ्कन गरिने सुविधा सम्पन्न स्टुडियोमा फिल्म छायाङ्कन गरिएको हो ।

फिल्मलाई विमल सुवेदीले निर्देशन गरेका हुन् । नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको फिल्ममा भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा र सङ्घर्षको कथा प्रस्तुत गरिएको छ ।

एउटा परिवार तर फरक पुस्ता, परिवेश र अनुभव बोकेका सदस्यमार्फत फिल्मले समग्र नेपालीभाषी भुटानीको आफ्नै देशबाट लखेटिनुअघि सरकारबाट योजनाबद्ध बर्बर यातनादेखि लखेटिएपछि नेपालको शरणार्थी शिविर र अमेरिका आइसकेपछि परिवारका फरक फरक सदस्यमा देखिने संरचनात्मक र मनोवैज्ञानिक असरलाई फिल्मको कथा बनाइएको निर्माता समुन्द्र राज घिमिरेले बताए ।

भारतको नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाबाट रंगमञ्चका विभिन्न आयाम अध्ययन गरेपश्चात् नेपाल फर्किएर थिएटर भिलेजमार्फत् नाटक लेखन, निर्देशन तथा कला निर्देशन, अध्यापनमा सक्रिय सुवेदीले भुटानी शरणार्थीका विषयमा नेपाल तथा भारतमा थुप्रै काम गरिसकेका छन् ।

‘हिउँको गीत’ १२ वर्षअघि विजारोपण भएको थियो । सुवेदीले पछि यसलाई नाटकको रूपमा भारतमा प्रस्तुत गरे, जसबाट उनले अत्यन्त प्रसिद्ध ३ वटा मेटा अवार्ड पनि जितेका थिए । गत वर्ष अमेरिकामा सोही कथामा ‘हिटलर आउँदै छ’ नाममा साङ्गीतिक नाटकसमेत बनाएका थिए ।

‘यो फिल्म नेपालीभाषी भुटानीको पहिलो दृश्यात्मक ऐतिहासिक दस्तावेजसमेत हुनेछ,’ निर्देशक सुवेदीले भने ‘ ‘बच्चा अवस्थादेखि पढेका, सुनेका र कथा लेखनका विभिन्न चरणमा नेपालको शरणार्थी क्याम्पदेखि नाटक निर्माणका क्रममा भेटेका सयौँ व्यक्तिहरूसँग भेटेर सुनेको अनुभवको आधारमा यो फिल्म तयार भएको हो । यसले भुटानी नेपालीको मात्र कथा भन्दैन, अमेरिका आएका संसारका आप्रवासीको कथा समेट्छ ।’

सुवेदीले फिल्म नेपाली र अंग्रेजी गरी दुई भाषामा फिल्म खिचिएको बताएका छन् । फिल्म सम्पादन, ध्वनि, संगीत, रंग संयोजन तथा पर्दा पछाडिका कार्यमा फरक फरक समूहले समानान्तर रूपमा काम गर्नेछन् । कथ्य संरचना नै बेग्लै रहने अर्को फिल्मको नाम ‘द स्नो इज सिङ्ङिङ’ राखिएको छ ।

जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य कार्यकारी निर्माताको रूपमा रहेका छन् भने मनोरथ खनाल, राकेश भट्टराई, रमेश लुइँटेल र पुण्य कुइँकेल सह निर्माताका रूपमा रहेका छन् । फिल्मलाई ह्याप्पी होम स्टुडियोजको प्रस्तुतिमा जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेले निर्माण गरेका हुन् । ओहायो राज्यको एक्रोन, कोलम्बस, पेन्सिलभेनिया वरिपरिका नेपालीभाषी भुटानी समुदायको सहजिकरणमा तयार भएको फिल्म निर्माणको अन्तिम चरणसम्म थिएटर भिलेज र गाउँ स्टुडियोले सहकार्य गर्ने छन् ।

फिल्ममा वर्षा र जोयशबाहेक पूजा चन्द, आकाश खतिवडा, ईशिर कर्माचार्य, थोमस किथ स्कट, केदार उप्रेती, आर. बी. खड्का, अर्जुन रसाइली, समीर रेग्मी, मनोरथ खनाल, नीलम खनाल, इशान कर्माचार्य, कृस्टल पराजुली, एन्जेलिना पराजृुली, जोशन रामदाम, निर्मल खनाल,विष्णु रामदाम, मिसेल स्कट, आयुष भट्टराई, नवीन खनाल, जोशिका रामदाम आदिको अभिनय छ । फिल्ममा पेन्सलभेनियाको ह्यारिसबर्ग तथा ओहायोको कायाहोगा फल्स, एक्रोन, कोलम्बस, सनसाइन तेक्वान्दो तथा नृत्य एकेडेमी, इन्टा फाउन्डेसनका चार दर्जनभन्दा बढी कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका फिल्मकर्मीले काम गरेका छन् । फिल्मलाई चिनइन गाउले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गर्नेछन् । फिल्ममा कौशिला खनाल कर्माचार्य, आर. बी. खड्का, डम्बर नेपाली, प्रतिमा श्रेष्ठको शब्द, तथा कालिप्रसाद बास्कोटा, मदन गोपाल, डम्बर नेपाली, अर्जुन रसाइलीको संगीत तथा गायन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0